ममता मृदुल, काठमाडौं
श्रीमतीलाई लिएर भरतपुर क्यान्सर अस्पताल भित्र पसे । अमिलो मन बोकेर डाक्टरको छेउमा पुगे । ‘अवस्था राम्रो छैन् ।’ एक पटक फेरि दिसा, पिसाब, रगत, एक्सरे र भिडियो एक्सरेको रिपोर्ट हेरेर डाक्टरले भने ।
‘के भन्यो डाक्टरले ? सञ्चो त हुन्छ नि ?’, ससुरा बुवाले फोनमा भन्नुभयो ।
‘रिपोर्ट सबै ठिकै छरे । एउटा अर्को जाँच पनि गराउनुस्, भन्नुभएको छ ।’ उहाँलाई संझाउँदै भने ।
होटेलको कोठामा रातभर छट्पटाउँदै बसेकी श्रीमतीको पीडाले म पनि छट्पटाउनुको बिकल्प खोज्थे । म लाचार थिएँ । सुई, औषधिले पनि उनको पीडा कम हुँदैनथ्यो ।
‘उनीलाई लास्ट स्टेज क्यान्सर भएको छ । शरीरभरि फैलिसकेको छ । उपचार संभव छैन् । अब केमो थेग्न सक्नुहुन्न । घर लग्दा हुन्छ ।’, डाक्टरको कुराले म छाँगोबाट खसेजस्तो भएँ । छेउकै कुर्सीमा थुचुक्क बसे । रुँदै अनुनय विनय गरेँ । बचाईदिन आग्रह गरेँ । उनले भने, ‘म सकेसम्म बचाउन चाहन्थे तर सक्दिन ।’,आँसु पुछेर कृत्तिम मुस्कान अनुहारमा ल्याउँदै डाक्टरको कोठाबाट म बाहिर निस्केँ ।
‘सामान्य समस्या रहेछ । घरमा आराम गर्दै तीन महिना औषधि खाए ठिक हुन्छ भनेको छ ।’
मेरो कुरा सुनेर उनको मलिन अनुहार हँसिलो भएर आयो ।
ओछ्यानबाट उठ्ने कोसिस गर्दै उनले भनिन्,
‘त्यसो भए चिन्ता नलिनु म पाखोबारी सबै खन्छु । तपाईं काममा जानु, कान्छो छोरालाई भैंसी फुका भन्नू है फुनमा ।’
वि.सं.२०७९ साउन २१ शनिवार ०८:३३ मा प्रकाशित






























