दीनानाथ पोख्रेल,इलाम
आयो कोभिड काल यो फनफनी घुम्दो छ बाजै बनी ।
मान्छे विश्व डुलीडुली छिनछिनै ढाल्यो उडायो पनि ।।
लेख्ने हात छ कम्पमा सकस छन् सम्झी गुमेका जन ।
सोच्ने मार्ग थुनेर दर्द ननिका घोल्दो छ पीडा मन ।।०१।।
लेखौँ यी बहका विषाक्त दिलका जानोस् पछिले भनी ।
हेला गर्न हुँदैन कोभिड कडा आघात भर्ने गनी ।।
खोकी मौसमी यामको पथ लिँदै फैलन्छ चारैतिर ।
खानामा मन हुन्न गन्ध क्षमता घट्नेछ भर्दै पिर ।।०२।।
गल्छन् मांस र अस्थिपन्जर सबै बेकामझैँ बन्दछन् ।
जम्मै अङ्गअनङ्ग ताप छ कडा आशाहरू मन्द छन् ।।
छातीमा अति दर्द हुन्छ गहिरो सुख्खा छ खोकी अझ ।
फर्केला दिन आश हुन्न दिलमा भत्केर भित्री पथ ।।०३।।
राती नीद रहन्न सुत्न सजिलो लाग्दै नलाग्ने रति ।
पीडा यो जति पोख्छु भन्छ दिलले रोकिन्छ बोल्ने गति ।।
आशामात्र छ एक ईश्वर सँगै मिल्दैन बढ्ने गति ।
सङ्ला चेतविषे थिए जति निका जम्मै भएछन् खति ।।०४।।
यो बेलातक छैन ईश्वर भनी लिन्थ्यो हियो अन्धता ।
प्यारा शङ्कर पार्वती हित गरून् पारून् हियो स्वच्छता ।।
मान्छे भ्रष्ट छ प्रस्टता मनुजता देखिन्न राम्रो कहीँ ।
धोका अर्थ पिपासु भाव अति छन् काला अंधेरा जहीँ ।।०५।।
घुम्दा छन् अझ बार, वर्ष, महिना घुम्दैन मेरो मन ।
जान्ने उच्च महान् म योग्य गतिलो यै हो अबोधी पन ।।
आँखा पूर्ण खुलेन हेर्न दुनियाँ जम्मै अँधेरो भयो ।
भित्री नेत्र खुलोस् बुझोस् प्रभु दया छ्याङ्गै उज्यालो छ यो ।।०६।।
छन्द – शादूर्लविक्रीडित
गण- म स ज स त त गु
सङ्केत-SSS IIS ISI IIS SSI SSI S
वि.सं.२०७९ साउन २८ शनिवार ०८:४८ मा प्रकाशित






























