राधा पाण्डे, गैंडाकोट न.पा. (नवलपुर)
बगर बगरमा हिँडे
हिलाम्मे डहरमा हिँडे
काँडेघारीमा
साँगुरो गोरेटोमा
गब्रेटे बाटोमा
भिडभाड सडकमा
क्रान्तिको मार्गमा हिँडे
जता जहाँ हिँडेपनि,
बडो होसियार पुर्वक हिँडिरहें
अनेक तगारोहरु नाघें
धेरै साँघुहरु तरें
भेल तरें, खहरे तरें
खोलाहरु तरिरहें
समुद्रको माझधारमा पुगेपछि
अनायासै दुर्घटना भयो
यो मन,
मनसंगै ठोकियो
तत्कालीन मनको अवस्था
कतै प्रतिवाद गर्न नसक्ने,
हुँदापनि,
समयको सुदुर पखेरामा
ढुक्ढुकाइरहेको छ
बस्,
धड्कन चलिरहेको छ
जीवनको आँधीबेहरीमा सम्हालिएको यो मन
भुमरीमा थामिएको यो मन
सिसा सरी चकनाचुर भयो
यसरी टुक्रा टुक्रा हुनेगरी
अर्को मनसंग
मन,नठोकिनु पथ्र्यो
बडो अपसोच भयो
यो भवसागरको बिचमा
भयानक दुर्घटना भयो
मनले,
मनभित्रै आकांङ्क्षाको बारुद भरेर
विस्फोट गरायो
तत्कालीन मनको अवस्था
कतै प्रतिवाद गर्न नसक्ने,
हुँदापनि,
समयको सुदुर पखेरामा
ढुक्ढुकाइरहेको छ
बस्,
धड्कन चलिरहेको छ
ठक्कर क्रोधको होस्
या प्रेमको,
सबै बज्रपात भन्दा पीडादायी समय,
मनसंग मन ठोकिनु पो हुँदोरहेछ ।।
वि.सं.२०७९ साउन २८ शनिवार ०८:५९ मा प्रकाशित






























