कृष्ण बाउसे
कहिले बाफिएर उड्दै गर्मीले
कहिले चिसिएर तल झर्दै ओसले
देखाउँछु नृत्यका विविध झाँकीहरू
आफ्नो निजी स्वार्थलाई तीलाञ्जली दिएर ।
बदलामा
दर्शकको माया बर्सेला भन्ने कत्रो विश्वास हुन्छ
तर सचेत दर्शक ठानिएको मान्छेले
साँच्चै माया गरेर
मलाई अँगालोमा बेरेकोभए मरीजानू !
मेरो महिमा बुझेको विज्ञानले नै पनि
आजसम्म
मेरा ओठ चुमेकोभए मरिजानू !
चिसो र तातोले कलह मच्चाउँदा
वा हावाले दौडको बाजी लगाउँदा
देख्नुभएको होला मलाई चाँडो चाँडो कुदेको
र बुझ्नुभएको होला धमिलो बुझ्नेले
कालो धुवाँसँग मेरो मिलन भएको
कार्बनको दुर्गन्धले मेरो साथ पाएको ।
तल जमिनमा
मानवनिर्मित कारखाना,बाहन र विविध
भट्टीहरूले ओकलेको कालो धुवाँका कारण
मलाई अर्बुद र क्षयरोगले सताएको
मलाई मात्र थाहा छ
र थाहा छ मेरो सारथि हावालाई ।
त्यो निराकार परोपकारी
जो थल्लिएको छ मभन्दा बढी नै
उहीँ रोगका कारणले ।
ए, उन्नतिको शिखरमा पुगेको भ्रम पालिरहेको जीव !
तिमीले
किन यति सरल कुरा पनि नबुझेको ?
मेरो सहकर्मी हावा
वा स्वयं म बादलको मृत्यु भएको क्षण
तिमीले
कुनै पनि हालतमा
जीवित पाउने छैनौ स्वयंलाई ।
वि.सं.२०७९ भदौ २५ शनिवार ०७:४६ मा प्रकाशित






























