कलानिधि दाहाल, काठमाडौं
जीवन
एउटा गौँडो
गौँडो
असङ्ख्य जीवन
कनीकुथी
एउटा उक्लौँ
अर्को आउँछ
अर्को उक्लौँ
अनगिन्ती
ओराला पनि
गौँडा बन्न पुग्छन्
सिसफसझैँ
उक्ले पनि झरिन्छ
झरे पनि चढिन्छ
चढ्नु
र झर्नाका असवाफ
अप्ठेरो भरेङ् नै त
विराट् विश्व रहेछ
हातभरि
ठेला उठेको गौँडो
पेट
अटेस्मटेस् अघाएर
झुसिला डकारले बनेको
गौँडो
आखिर राज्यव्यवस्था भन्नु नै
कुण्ठा
हत्कडी
चोरचमार
र डाकुहरूका
काला मन निर्मित
एउटा फलामे
तारको गौँडो रहेछ
समाज !
यिनै गौँडामा अल्झेपछि
तपाईं
कहिल्यै उक्लनु हुन्न
–सगरमाथा
कहिल्यै माँझ्न सक्नुहुन्न
– अन्धविश्वास
कहिल्यै आकार फेरेर
चढ्न सक्नु हुन्न
– सेतो सिर्जनाको संसार
हिमालको हुरीमा
– गौँडहरू रहन्नन्
छिनाल्दै कुण्ठाका डोरीहरू
चुडाल्दै अन्यायका हत्कडीहरू
टुक्राउँदै
चोरचमार
र डाकाहरूका
भित्री काला साङ्लाहरू
एउटा
सुकिलो बिहानको
सेतो डबली
दिनदहाडै निस्कनु छ
खनेर कहिल्यै सकिन्न
स्वार्थको बारी
पारिवारिक चाहनाको छहारी
पत्नी
पति
र छोराछोरी
अनि आफन्तका फूलबारी
यी त
आफैँमा कहिल्यै पार नहुने
कडा पत्थरका
गौँडाहरू हुन्
देश रट्नेका नायकजस्तै
आमाबाबु घोक्नेका
मनका पोयाजस्तै
पल्पल
लाम लागेर
मनका साङ्लाहरू लहरिन्छन्
देश सकिएको
कतै देख्नु भएको छ र ?
बाबुआमाका
घाँटी सुकेका
कतै भेट्नु भएको छ र ?
यी त
निवृत्तिभरण हुन्
एकपछि अर्कोले पाउँछ
यिनै गौँडामा अल्झेपछि
तपाईं
कहिल्यै उक्लनु हुन्न
–सगरमाथा
कहिल्यै माँझ्न सक्नुहुन्न
– अन्धविश्वास
कहिल्यै आकार फेरेर
चढ्न सक्नु हुन्न
– सेतो सिर्जनाको संसार
हिमालको हुरीमा
– गौँडहरू रहन्नन्
तूफानका तारमा
– आफन्त हुन्नन्
उजेलो मनको
घरभित्र
कुनै करतुतका
गौँडा बन्न सक्दैनन्
उठ्नोस्
अलिकति माथि
– हिमालको हुरीझैँ
– तूफानको तारझैँ
– उजेलो मनको घरझैँ
सिर्जनाको
चकाचौध डबली
हात फैलाएर
अङ्कमालको
छाती उभिरहेछ !!
वि.सं.२०७९ भदौ २५ शनिवार ०७:४७ मा प्रकाशित






























