प्रदीप रत्न शाक्य, बौद्ध, काठमाडौं
रात जब जब
सडकमा ओइरिंदै जान्छ
हो सुनसान जाग्छ ।
म चेतनशील हुनुको गर्वले
अन्धकार छाम्न पुग्छु
कविता ब्युँझन्छ
भावहरूको कोलाहल ब्युँझन्छ
एउटी विधुवाको आकृतिमा ।
सुनसान
जलिरहेको सौंदर्यको अट्टहासमा जल्दै
मलाई भनिरहन्छ
म विचित्र इन्साफको चिनारी हुँ
मलाई जल्न देऊ
सहीदकी विधुवा जस्ती बल्न चाहन्छु ।
म उनको धारणामा बग्दै जान्छु
अक्षरहरूलाई बगाउंदै जान्छु
सुनसान पनि कोलाहल बन्दै बग्दै जान्छ
मेरो कवितालाई मशाल बनाउन ।
एउटा ज्वाला बन्दै
मेरो कविता चिच्च्याउंछ
म अचानो बन्दिन
म निसासिएको आवाज बन्न चाहन्न
यस्तै नाराका चित्कार बन्दै बलिरहन्छ
मेरो कविता ।
सायद मेरो कविता
एउटी देशभक्त नारीको प्रण हुन् कि
चिच्च्याईहरू सुनिरहन्छु
बस् सुनिरहन्छु
सुनसान प्रसूति भइरहेको आवाज जस्तै ।
वि.सं.२०७९ भदौ २५ शनिवार ०७:५२ मा प्रकाशित






























