डा. विदुर चालिसे, काठमाडौं
गाडिको चक्कर !
चालक ध्यानमग्न थियो । यथार्थमा बेहोस, गतिहीन र अर्थहीन मानसिकता साथ चलिरहेको थियो । कसैले उसलाई बाटोमा हात जोड्दाजोड्दै सोध्यो ।
‘क्रेज जान्नु हुन्छ ?’
‘ग्रीज ?’
उ अलमल्ल पर्याे । हात जोडिरह्यो । चुपचाप लाग्यो । अगाडि बढ्यो । बाटोको अर्काे छेउबाट कसैले विनम्रपूर्वक हात मोलि मोली सोध्यो ।
‘हजुर ! मसँग एकदम राम्रो ग्रीज छ, हाल्ने ?’
निकै उच्चगुणस्तरको चिप्लो न चिप्लो ग्रीजको बारेमा बखान गरेर बिक्रेता भाउमाथि भाउ र भाउबाट दाउ छोप्न थाल्यो । बिक्रेताको मन्दमृदुल मुस्कान र अनुनयविनयबाट प्रभावितहुँदै उसलाई लाग्यो ।
‘सहज ढङ्गले गाडि गुडाउने र खिया धपाउने अस्त्र !’
उसले अर्काेतिर फर्क्यो । दायाँ झर्क्यो । बायाँ पड्क्यो । यता कड्यो । उता छड्क्यो । रातमा भड्क्यो । दिनभर फड्क्यो । उसको जिन्दगी चल्दैथियो । गाडिको स्टेरिङ छिटो छिटो यता उता घुमाउन थाल्यो । अर्काे बिक्रेताले गाडि चलाउने भाउ तोकि दिन थाल्यो ।
‘हजुर ! यो उहिलेको जस्तो ग्रीज पक्कै होइन ! यसमा उच्च स्तरको चिप्लो, चिल्लो र गति भएको खास तत्व छ । यसलाई प्रयोग गरिबक्सेमा गाडि खुब कुद्छ ।’
उच्च घरानिया बिक्रेताले प्रयोग गरेको दरबारी आदरार्थीको भाषाले हात जोडिरहेको चालक मोहित बन्यो । उसले पुरानो ग्रीजलाई पन्छाउँदै गयो । नयाँनयाँ ग्रीजहरू प्रयोग गर्दैगयो । बिक्रेताले ल्याएको नयाँ ग्रीज हेर्दा राम्रो, छुँदा चाम्रो, घस्दा माम्रो र गुड्दा काम्रोजस्तो देखिन्थ्यो ।
केहीदिन नयाँ ग्रीजको चुर्फुर निकै तेज गतिमा थियो । गाडि दौडियो । हात जोडेको चालकले झिकेको पुरानो ग्रीज बाटोमा छरिँदै र थुप्रँदै गयो । यस्तो भयो कि पुरानो ग्रीजका कारणले हात जोड्ने चालकको आउजाउ गर्ने बाटोको वातावरण दुर्गन्धित हुन थाल्यो । त्यहाँ उत्पादित फङ्गी, भाइरस र व्याक्टेरियाले उसलाई दैनिक जसो सताउन थाल्यो । एकदिन हैरान भएर आफैलाई धिक्कार्दै कराउन थाल्यो ।
‘खत्तम लुब्रिकेण्ट परेछ !’
बाटोमा फसेको उसको गाडि नचलेपछि कसैले पाङ्ग्रा,कसैले चालक सिट, कसैले स्टेरिङ, कसैले इन्जिन फुकालेर बेच्नलाई विज्ञापन गर्न थाले ।
‘लौ आयो ! पुरानो सांस्कृतिक सम्पदा !’
वि.सं.२०७९ मंसिर १७ शनिवार ०९:०० मा प्रकाशित






























