नारायण खनाल, अर्घाखाँची
हिँड्न त
नहिँड भनेकै हो उसले
सत्मार्गमा उज्यालो पछ्याउँदै !
अहँ, दुस्साहस गरिन
खुट्टा काँधमा राखेर हिँड्ने
भुईँमै टेकेर हिँडेँ, हिँडिरहेँ ।
लगाएर
छिचिमिराहरु
डाम्यो अपराधको पन्युँले !
रगतको छिर्का पर्दा डामहरुबाट
पालैपालो नाचे
ऊ र उसका कानुनका दफाहरु
निर्वस्त्र बनेर ।
दोष
त्यत्ति थियो
फुल्न खोजेँ
फूलहरुसँगै शरदमा
हेर्न खोजेँ, आफ्नै कर्मको उज्यालोमा आफ्नै अनुहार
जति लडाउँछ अन्यायले लात हानेर
उति उठेँ, उठिरहेँ, तेजिलो मसाल बनेर ।
चुसेर आमाको रगत
रक्ताम्य ओठ लेप्र्याउँदै
सोध्न त सोधेकै हो उसले
आफ्नो ओठको लालीमाको मोल
भनिदिएँ : कुहेको अण्डाभन्दा कम !
र त दारेको हो मेरै छातीमा
सासको नशा छिन्नेगरी ।
दिन त आदेश दिएकै हो
नहेर्न आकाशमा
चराहरु उडेको बखत !
हेरेँ, मनको मजाल जगाएर
आँखा उघारी उघारी
उडेँ पसिनाको आँट चढेर आकाशमा
चराहरुसँगै कावा खान
त्यसैले त
रोपिदियो आँखाकै पुतलीमा
सत्ताको सङ्गिनले ।
के थाहा
नपुंसक सत्ता र उसको नाइकेलाई
मनमा मजाल हुनेहरु
–आँखा बिना पनि देख्न सक्छन् भनेर ।
वि.सं.२०७९ मंसिर २४ शनिवार ०८:३८ मा प्रकाशित






























