बाबुराम न्यौपाने “उत्स“
दमक, झापा
हरेक क्रान्तिको पटाङ्गिनीमा
संविधान लेखिन्छ
कतै, रगतको रातो मसीले
कतै, गाढा नीलो मसीले ।
समुन्द्रको लहर समान
जनलहरको उफान उठ्छ
गगनभेदी नारा
उरालिन्छ
जयजयकारको स्वरले
सारा धर्ती हल्लाउँछ ।
फेरि
अर्को भीड जम्मा हुन्छ
चौरास्तामा संविधान जलाउछ
सार्वजनिक स्थलमा
धुजाधुजा बनाएर च्यात्छ
तर किन
कोही जलाउदैनन्
गरिबीको स्वर्णमहल
कोही किन च्यात्दैनन्
उल्टो हिंड्ने बिद्रोहका स्वरहरु ।
जंगबहादुर चिहानबाट उठेर
मिर्मिरे बिहानीको दोछायामा
हातले सुनको छडी घुमाउदै
उसरीनै
रिसल्लाहरु अगिपछि लगाएर
नयाँ सडकमा
निस्फिक्री, ठमठम हिंडिरहेका छन् ।
सहोदर दाजुको टाउको
सुनको किस्तिमा सजाएर
बाबु, शाहजहाँलाई उपहार दिने
औरंगजेब
गद्दीको अपारदर्शी छायाँमा छेलिएर
प्रेमको परिभाषा बदल्छ
ताजमहलको पोखरीका
कृतिम फोहरामा
आँसुका चिसा छालहरु उठ्छन् ।
चंगेज खाँ, हिटलर, मुसोलिनी
कहाँ मरेका छन् र
नादिरशाह, मुहमद गोरी,रासपुटीनहरु
गोप्य खोपीमा
षड्यन्त्रको तानाबाना बुनिरहेका छन् ।
जंगबहादुर चिहानबाट उठेर
मिर्मिरे बिहानीको दोछायामा
हातले सुनको छडी घुमाउदै
उसरीनै
रिसल्लाहरु अगिपछि लगाएर
नयाँ सडकमा
निस्फिक्री, ठमठम हिंडिरहेका छन् ।
कलमको नीवमा चेतना घोटेर
दुनियाँको
कथा लेख्ने सिपाहीहरु
र
पसिना बगाउँने ज्यामीहरु भने
चरम भोगको सतरन्जमा लागेको
डढेलो निभाउँन
आफ्नू भोकको स्वर्ग जलाएर
अर्को कथाको लागि
लोकतन्त्रको धमिलो क्यानभासमा
‘नयाँ स्क्रिप्ट’ कोरिरहेका छन्।
वि.सं.२०७९ पुस २ शनिवार ०८:२५ मा प्रकाशित






























