टंकबहादुर आलेमगर,त्रियुगा नपा, उदयपुर
कसैलाई पर्खिरहेको एकजोर नयन ।
चरा आकार हत्था रहेको घङरुको लौरो चिउडोमा अड्याएर कतै हराएकी भक्ति आमा ।
चाइनेजो थेगो राख्ने बुबाको छोरो छिट्टै आउछु भनि छोडेर गएको फर्केर आएन । हरेक नयाँ छोरो मान्छेको आगमन हुँदा नजिकै गएर चस्मा पुछेर हेर्नु हन्थ्यो ।
’आयाया !!!!’ आश्रमकै जेठा बुबाको सुस्केरा घुँएत्रियो पल्लो कोठा बाट ।
‘छुइ आमा हा हा’ भन्दै थपेनी आमा नाच्न थाल्छिन् । वर्ष बित्यो उहाँको दिमाग अस्वस्थ बनेको ।
फुस्रो मुहारहरूमा बुढो रूखमा सुनाखरी फक्रे झैँ देखिन्थे । थकित घुँडो र ढाड तन्काएर धनुषाकारबाट अलिकति सोझिने प्रयास गर्दै थिए ।
आज पनि एकजना दानी मान्छे आउदै छन् भन्ने सूचना बिहानै प्रसार भइसकेको थियो ।
मीठा मीठा खानाको पाकेट सँगै न्यानो लुगा प्राप्तिले वृद्ध आश्राम प्रफुल्लित बनेको थियो ।
हिँड्न अगाडि दाताले चुनावी पम्प्लेट बाड्दै भन्यो ’बुबा आमा !!! म देश बनाउन यो चिह्न लिएर यो क्षेत्रबाट उठेको छु । मलाई तपाईंहरूले स्वस्तिक छाप ठोकेर आशिष् दिनु होला ।’
अलिक पर हरियो झोला बोकेर, लौरोको भरमा थर्थराइ रहेकी आमा फुस्फुसाइन् ’तिमी समेत आशिष् माग्न आउने सात जना भए । भोलि पनि कुन पार्टीको मान्छे आउने अरे । खै कसलाई दिने ? अलमल्ल गोत्र ।’
वि.सं.२०७९ पुस २ शनिवार ०८:२९ मा प्रकाशित






























