वसन्त अनुभव, घोराही, दाङ
“अब बिहे गर्नुपर्छ, छोरी । उमेर पनि पुगिसक्यो ।“ खाना खाँदै थियौँ । एकाएक बाबाले कुरा निकाल्नु भयो ।
“नाइँ बाबा ! म बिहे गर्दिनँ । अझै अगाडि पढ्छु । आफ्नो खुट्टामा उभिन्छु ।“ म प्रसङ्गबाट पन्छिन खोजेँ ।
“पढेर त कहिल्यै सकिन्न, छोरी । चाहिने जति पढिहाल्यौ । अब जिद्दी नगर । राम्रो घरबाट कुरा आएको छ । हुन्न भन्न पाउँदिनौ है ।“ बाबा अलि कठोर देखिनुभयो ।
थोरै शान्त भएपछि आफैँ सम्झाउन थाल्नुभयो,– “म डाँडा माथिको जून जस्तै भैसकेँ; कतिबेला अस्ताउने टुङ्गो छैन । तिम्रो घरजम गराउन पाए सजिलै सास जान्थ्यो ।“
मैले झलक्क रमेशलाई सम्झिएँ । सँगै बाँच्ने सँगै मर्ने भनेर गरेको वाचा सम्झिएँ । ’म रमेश बाहेक अरूसँग बिहे गर्दिनँ ।’ एक मन क्रान्ति गर्न तम्सियो ।
’थुक्क तेरो बुद्धि ! आमाको मृत्युपछि जसले आफैँ आमा, बाबा दुवै बनेर, दुःख सङ्घर्ष गरेर हुर्कायो, पढायो, लेखायो; आज उसको सानो कुरा पनि मान्दिनस् ।“ अर्को मन कड्कियो ।
’सानो कुरा ? बिहे जस्तो कुरा पनि सानो हो ? …. । मनले अर्को मनको प्रतिकार गर्दै थियो । तर मैले अन्ततः बाबाको विरोधमा न उत्रने निधो गरेँ ।
एकदिन मलाई हेर्न केटो घरमा आयो । मलाई केटो सामु बोलाइयो । उसको मुख हेर्नै मन थिएन । तर बाबाको इच्छा पूरा गरिदिन र इज्जत राखिदिन आफ्नो प्रेम र चाहनालाई तिलाञ्जली दिएँ । भारी मन लिएर केटो सामु पुगेँ । मन नलाई नलाई टाउको उठाएर हेरेको त, दृश्य देखेर हेरेको हे¥यै भएँ । एक्कासि मन पुलकित भयो । औँसीझैँ मुहारमा पूर्णिमाले प्रवेश ग¥यो । सामने सोफामा बसेर रमेश मलाई हेर्दै मुस्कुराइरहेको थियो ।
“कस्तो लाग्यो त छोरी, केटो ?“ बाबाले हाँस्दै जिज्ञासा राख्नुभयो । अनि आफैँ अगाडि भन्नुभयो, – “तिमीले मलाई के ठान्यौ ? पहिल्यै भन्नु पर्दैन ? खैर ! तिमीले नभनेपनि मलाई सब थाहा थियो । म तिम्रो बाबा हुँ छोरी । तिमीलाई कसरी दुखी देख्न सक्छु र ?“
वि.सं.२०७९ माघ ७ शनिवार ०९:४४ मा प्रकाशित






























