
प्रजित कुँवर,स्याङ्जा
१
बालुवा चाल्दा चाल्दै बगरमा जिन्दगी सकियो
एक जोडी कपडाको भरमा जिन्दगी सकियो
आधापेट खाएर पसिना बगाएर यौटी आमाको
बच्चालाई सुखदिने चक्करमा जिन्दगी सकियो
२
नसकेर सम्हाल्न मन रूँदै हिँडेको छ
देखाउँदै पागलपन रूँदै हिँडेको छ
मुनाले घर छाडेको खबर पाएपछी
कठै ! परदेशमा मदन रूँदै हिँडेको छ
३
फेर्छु भनेर घरको छानो शहर गाको मान्छे
नफुकाई मुटुको भक्कानो शहर गाको मान्छे
आज रातो बाकसमा फर्किएको खबर आयो
सपनाहरू बोकेर विरानो शहर गाको मान्छे
४
श्रम बेचेर पसीना झारी जवानी बित्दैछ
मनका रहर मनमै मारी जवानी बित्दैछ
सपना बोकेर परदेशीने नेपाली युवाको
विरानो देश समुन्द्र पारी जवानी बित्दैछ
५
टन्नखान भोको पेट भर्न नदिने भयो
आफ्नै माटोमा श्रम गर्न नदिने भयो !!
यस्तो लाग्छ परदेश हिँड्दा –हिँड्दा
देशले मलाई देशमै मर्न नदिने भयो !!