
पुँजीवादी समाजमा हरेक उत्पादन एउटा माल हुन्छ । केवल उत्पादनका साधन र उपभोक्ता सामग्री मात्र होइन, अपितु मानव श्रम पनि एउटा माल हुन्छ । माल पुँजीवादी अर्थ व्यवस्थाको सेल कोशिका हो । मालमा पुँजीवादका सबै अन्तरविरोधहरू समावेश हुन्छन् । पुँजी कुनै वस्तु होइन, यो निश्चित सामाजिक सम्बन्ध हो । यो उत्पादन साधनमा स्वामित्व राख्ने वर्गहरू र उत्पादनका साधनहरूबाट बञ्चित हुनाले शोषणको मारमा परेका वर्गहरूका बीचको सामाजिक सम्बन्ध हो । भवन, मेशिन, कच्चा पदार्थ, उत्पादित वस्तु स्वतः पुँजी होइनन् । निश्चित सामाजिक सम्बन्धमा मात्र यी वस्तुहरू शोषणका साधन अर्थात् पुँजीमा परिणत हुन सक्छन् ।
माल र मुद्राबीचको सम्बन्ध
मुद्राको सम्बन्ध मालसँग हुन्छ । दैनिक जीवनमा मुद्राको रुपमा माल अभिव्यक्त हुन्छ । प्रारम्भमा धनी कविलाहरू र भूमिहीन कविलाहरू परस्परमा आफ्ना अतिरिक्त उपजको विनियम गर्दथे । वस्तु विनियमको रुपमा हुने यो विनियम एउटा जटिल प्रक्रिया थियो । त्यहाँ समतुल्यको विशेष भूमिका हुन्थ्यो । माल विनिमयको लामो प्रक्रियामा बेग्लाबेग्लै राष्ट्रहरूले विनियम गर्ने बेग्लाबेग्लै माध्यमको प्रयोग गरे । अन्तमा, उनीहरू सुन या चाँदी जस्ता मूल्यवान् धातुहरूलाई मुद्राको रुपमा प्रयोग गर्ने निर्णयमा पुगे । मुद्राको गुण त्यसका कार्यहरूद्वारा अभिव्यक्त हुन्छ ।
पुँजी परिचालनको प्रक्रिया
पुँजीको परिचालन प्रक्रिया अतिरिक्त मूल्यको शोषण र त्यसको वृद्धि हुने प्रक्रिया हो । पुँजी कायम रहनको निम्ति त्यो सँधै गतिशील हुनु आवश्यक छ । पहिलो चरणमा पुँजीपतिले बजारबाट उत्पादन साधन र श्रम शक्ति खरिद गर्नका लागि निश्चित मात्रामा मुद्राको प्रवन्ध गर्नुपर्दछ । यो प्रक्रियामा पहिला मुद्राले खरिद र भुक्तनको साधनको रुपमा पुँजीको काम गर्दछ । त्यहाँ मुद्रा पुँजी बन्छ र मुद्रा पुँजी उत्पादन पुँजीमा बदलिन्छ । यो पुँजीको काम अतिरिक्त मूल्यको सिर्जना गर्ने तयारी गर्नु हुन्छ । दोस्रो चरणमा उत्पादन शुरु हुन्छ र र विनिमय प्रक्रिया खत्तम हुन्छ । श्रमशक्तिको लगानीसँगै कच्चा मालले नयाँ रुप धारण गर्दछ र उत्पादन पुँजी माल पुँजीमा बदलिन्छ । तेस्रो चरणमा माल पुँजीमा मजदुरको श्रमद्वारा सृजित अतिरिक्त मूल्य सामेल हुन्छ । यो पहिअले किनिएको कच्चा माल भन्दा बेग्लै देखिन्छ र मूल्य पनि पहिलेको मूल पुँजीभन्दा बढी हुन्छ । उत्पादित माल विक्रीको लागि बजारमा पु¥याइन्छ र माल पुँजी फेरि मुद्रा पुँजीमा बदलिन्छ । यो प्रक्रिया अनवरत चलिरहन्छ । यो गति नै पुँजीको परिचालन हो ।
समाजवादी आर्थिक कार्यक्रम
समाजवादी क्रान्तिको स्वरुप पुँजीवादी व्यक्तिगत सम्पत्तिलाई प्रहारको लक्ष्य बनाउँदै सबै खाले शोषणको अन्त्य गरी सामूहिक पुँजीको विकास गर्नु हो । यसको लागि संक्रमणकालको रुपमा सहकारिताको अवधारणालाई अनुशरण गर्नु उपयुक्त हुन्छ । साझा उद्देश्यको लागि स्वेच्छाले मिलेर गरिने कार्य नै सहकारी हो । सरकारी, निजी स्वामित्व रहेको पुँजीवादी अर्थप्रणालीलाई बदलेर सामूहिक स्वमित्व रहेको समाजवादी अर्थप्रणालीमा रुपान्तरण गर्ने संक्रमणकालीन आर्थिक र सामाजिक संगठन हो सहकारी । यसको सञ्चालन स्वेच्छिक सहभागिता र आपसी लाभको सिद्धान्तमा आधारित भएर गरिन्छ । सहकारी जनताको मुक्तिको लागि गरिबीबाट समृद्धितर्पm जाने एक मात्र मार्ग हो । यो वर्ग विभाजित वर्तमान समाजको रुपान्तरण गर्ने शक्तिमध्ये एक हो । यसले श्रमलाई पुँजीको मातहत गराउने वर्तमान प्रणालीको सट्टा स्वतन्त्र तथा एक समान उत्पादन संघको लोककल्याणकारी प्रणाली दिन सक्छ ।
सहकारी उत्पादन प्रणाली पहिलो, सैद्धान्तिक तथा राजनीतिक दृष्टिले र दोस्रो, व्यावहारिक तथा प्रयोगात्मक दृष्टिले महत्वपूर्ण छ । यी दुईको उचित समायोजनबाट अर्थ उत्पादनमा आत्मनिर्भर बन्न सकिन्छ । यसमा उत्पादनका साधनहरूमाथि सामाजिक स्वामित्व कायम रहन्छ । सहकारी समाजवादी सत्ताको निम्ति कर्तव्यसँगै अवसर पनि हो । यसले उत्पादन सम्बन्धलाई समाजवादी सत्ताअनुरुप योजनाबद्ध, गतिशील र सामूहिक खालको बनाइदिन्छ । यसले सबै जनताको उत्पादन प्रणालीमा सुधार र परिवर्तन गरिदिन्छ भने आफ्नै उत्पादनहरूको संगठन पनि बनाउँदछ । सहकारी आन्दोलनले पुँजीवादी व्यवस्था र पुँजीपतिवर्ग माथि सर्वहारावर्गको विजयको मार्ग प्रशस्त गर्दछ । वास्तविक अर्थको सहकारी प्रणालीमा उत्पादनका साधनमाथि सामूहिक स्वामित्व कायम रहन्छ । यसले उच्चस्तरको व्यवस्थापन र चेतनाको माग गर्दछ । उत्पादन वृद्धि गर्ने, श्रम उपयोगी बनाउने र नयाँ राजनीतिक चेतनाको विकास गराउनेसँग सहकारीको उद्देश्य जोडिएको हुन्छ ।
कम्युनिष्ट आर्थिक प्रणाली
कम्युनिष्टहरू सर्वहारावर्गको हितको निम्ति लड्छन् । कम्युनिष्टहरूले मजदुरहरूको हितलाई नै अघि सार्ने गर्छन् । मजदुरवर्गीय संघर्षको विकास गर्ने विभिन्न अवस्थामा कम्युनिष्टहरू जहिले पनि र जहाँ पनि पूरै आन्दोलनको हितको प्रतिनिधित्व गर्दै संघर्षरत रहन्छन् । कम्युनिष्ट सिद्धान्तको लक्ष्य निजी सम्पत्तिको अन्त्य गर्नु हो । क्षमताअनुसारको काम र कामअनुसारको दाम उपलब्ध गराउनु कम्युनिष्टको आर्थिक प्रणाली हो । उत्पादन बढाउने र निरन्तर क्रान्तिलाई पक्रने कार्यशैलीमा कम्युनिष्टहरू अभ्यस्त हुनुपर्दछ । समाजवादी अर्थव्यवस्था टिकाईराख्न आर्थिक पक्षको पनि महत्वपूर्ण भूमिका रहन्छ । लेनिन, स्टालिन र रुसी कम्युनिष्टहरूले खडा गरेको समाजवाद र पूर्वी युरोपका समाजवाद आर्थिक प्रणालीकै कारणले टिक्न सकेनन् । वैभव, विलासी जीवनको अन्त्य गरी सुव्यवस्थित र सरल जीवनको निर्माण गर्नुपर्छ । फजुलखर्च गर्ने र चरम उपभोग गर्ने प्रवृत्ति पैmलिन दिनुहुँदैन । जनता र आम नागरिकको हकमा रोजगारीको सुनिश्चितता गरी जनताको आर्थिक उत्पादन कार्यलाई प्रोत्साहित र संरक्षण गर्ने नीीत लागू गरिनुपर्छ ।