रन्जना पराजुली लम्साल, काठमाडौँ
‘आम्मा, आम्मा’ बाटोदेखिनै चिच्याउँछ रामु । आँगन बढार्दै गरेकी रामुकी आमा उजेलीले रामुतिर हेर्दै , ‘के भो ? किन चिच्याएको ?’
दथैको नुगा तैले तिन्ने ? थप्पैले तिनिथके । बदालमा नुगा थिदिन्छ । भन्नुन आम्मा हामीले तैले तिन्ने ?’
एकछिन त अलमल्ल परिन् उजेली के भन्छ रामुले भन्दै । पछि बुझिन् दुईचार दिनपछि आउन लागेको चैते दशैं सम्झेर, यसलाई कसले उरालो फेरि । लाटो छ बेलाबेला उराल्दिछन् । दिक्क मानिन् उजेलीले ।
पहिलो सन्तान छोरो जन्मदा खुशी भएको परिवारमा दिनहुुँ बढ्दै गएको छोराको शरीरले चिन्ता बढ्न थाल्यो । रामु ढिलो बोल्यो, त्यो,पनि तोते । अनि हातखुट्टा बाङ्गा देखिन थाले । चिन्ता माथि चिन्ता बढ्न थाल्यो । रामुपछि दुई छोरी जन्मिए । खेतीको अन्नले दुईचार महिना मात्र थेग्थ्यो । त्यो पनि रामुको उपचारमा अस्पताल र झाँक्री धाउँन बन्धकी राखेको उकास्न सकेनन् । बाध्यतावस् रामुको बुवा भारत छिरे । तर घरपरिवार सम्झेर फर्किन जानेनन् जीउँदा छन या मरे । अहिले रामु बीस र छोरीहरु चौध र बा¥हका भए ।
‘बाबू, तिमीलाई यस्ता कुरा कसले भन्यो ?’, गाईबाख्रा पालेर र बिहान बेलुकी बजारमा तरकारी बेची जनतन गर्जो टारेकी उजेलीले सोधिन् ।
‘थाथिहलुले भनेतो नि !’
शरीरका अङ्गहरु कमजोर भएपनि रामुलाई सम्झाएर भन्यो भने सध्ये मान्छे झैँ कुरा बुझ्थ्यो र दुःख दिदैन थियो ।
‘बाबू, हामीले दशैं अस्ति मनाको हैन र ? बाबुलाई नयाँ लुगा किन्देको, पिङ्ग खेलेको, मासुभात खा’को अनि मामाघर टीका लगाएर यति धेरै पैसा पाएको बिर्सेको हो ? जाउ भित्र बाकसमा हेर त ! दशैंको नाना पट्याएर राखेको छ कि छैन ।’
‘अनि थाथिहलुले दथै आयो नुगा तिनिथ तीन भनेतोत ? ’
‘बाबू, आउ म तिमीलाई बुझाउँछु । पहिला पहिला चैतमा दशैं मान्थे । ठुलो चाड भएकोले टाढाटाढा भएका सबै भेला भएर खसी काट्ने, खाने, रमाइलो गर्ने र आफु भन्दा ठुलाको हातबाट टिकाजमरा थाप्ने गर्थे । तर समय गर्मीको भएर मान्छेहरु बिरामी भएरे । कति त मरेपनि रे । पछिपछि मान्छेले बुझ्दै गएर असोजमा दशैं सारेका रे । पहिले चैतमा मानिराखेको भएर अहिले कसैले चैतेदशैं कसैले सानोदशैं भनेका हुन। तिम्रो साथीको लुगा फाटेर नयाँ किन्यो होला नि ! अनि तिमीलाई सुनायो । कुरा बुझेको होनि बाबुले । खोइत हाँसेको, आमालाई हाँसेर देखाउ ।’
‘बुधे आम्मा, बुधे थप्पै बुधे । थाथीहलुलाई हाम्लो आम्माले भनेतो यो थानोदथै हो ले भनेर आउँथु है । ’ भन्दै रामु खुट्टा खोच्याउँदै दौडियो ।
‘यस्तोमात यति कुरा बुझ्छ भने सध्ये भए मेरो छोरो महान हुन्थ्यो होला,’ भन्दै रामु दौडिएतिर हेरिरहिन् उजेलीले रामु पर नपुगुन्जेलसम्म ।
वि.सं.२०७९ चैत २५ शनिवार ०९:२० मा प्रकाशित






























