वसन्त अनुभव घोराही, दाङ
‘तँलाई त ! आफ्नो सन्तान भन्न पनि लाज लागेर आउँछ ।’ एकाएक आमा आगो बनिन् ।
‘किन आमा ! मैले त्यस्तो के गरेँ र ?’ आयले नम्रपूर्वक सोध्यो ।
‘अझ, मैले के गरेँ पो भन्दोर’छ, ए ! लाज लाग्दैन । मुला त्यही केही नगरेर त बर्बाद भो ! जेठो बाँठो भन्नु पनि बेकार रहेछ ।’ आमाको मुखबाट अझै ज्वाला निस्किरहेका थिए ।
‘आमा !! के सेल रोटी घुमाएझैँ कुरा घुमाउनुभएको ? सिधा भन्नु न ! मबाट के भूल भो ?’ अलि झर्किँदै आयले भन्यो ।
‘जाँ पहिला, खुरुक्क गएर, आफ्नो अनुहार ऐनामा हेर । आफूले आफैँलाई देखेर डराउछस् तँ । छिः छिः हेर त ! हेर्दै डरलाग्दो, घिनलाग्दो, कुरुप भैसकिस् । आफ्नो स्वास्थ्यको पनि ख्याल गर ।’ आमाको आक्रोश अझै शान्त भएको थिएन ।
एकछिनपछि शान्त हुँदै अगाडि भनिन्– ‘त्यो महङ्गीलाई हेर त ! कति हृष्टपुष्ट छ । अहिलेसम्म बिरामी त के, शरीरमा खरोंचसम्म लागेको हैन । मोटाएर हात्ती भैसक्यो । अहिलेसम्म दुब्लाएको भन्ने रेकर्ड छैन । दिन दुईगुणा, रात चौगुणा बढ्दै गएको छ । तिमीहरू सहोदर भाइ हौँ भनेर कसैले विश्वास गर्छ ।’
‘मेरो सामु त्यो लाछी, महङ्गीको कुरा नगर्नुस् आमा ! त्यो मेरो भाइ भएर पनि, दाजुको मान मनितो कहिल्यै राखेन । सधैँ मनोमानी गर्दै हिँड्यो, र हिँडिरहेको छ । त्यसकै मनोमानीले गर्दा नै, मेरो यस्तो हाल भएको हो ।’ निन्याउँरो अनुहार बनाउँदै आयले भन्यो ।
आयको कुराले आमाको मन द्रवित भयो । उनले आयलाई सुम्सुम्याउँदै भनिन् ‘सुर्ता नगर छोरा ! म महङ्गीलाई एकपटक सम्झाउँछु ।
वि.सं.२०७९ चैत २५ शनिवार ०९:१६ मा प्रकाशित






























