कृष्ण बाउसे
जन्मँदा
तिम्रो के थियो र !
आज तिमीसँग जे छ
रुखबाट प्राणवायु पाएजस्तै
सूर्यबाट ताप र प्रकाश पाएजस्तै
माटोले खानेकुरा उब्जाइदिएजस्तै
नदी, हिमाल र सागरकै कृपाले
पानी उपलब्ध भएजस्तै
सबै सबै
अरूबाटै त पाएका हौ ।
आमा–बाबाट जीवन पाएका हौ ।
परिवारबाट कदम–कदममा समर्थन पाएका हौ ।
समाजबाट शिक्षा–दीक्षा, संस्कार र ज्ञान पाएका हौ ।
राष्ट्रबाट गर्विलो पहिचान पाएका हौ ।
मूल्याङ्कनमा आफ्नै वंशको हालीमुहाली भएकाले
स्वयं दानवीय स्वभाको हुँदाहुदै पनि
’मानव’को उपनाम पाएका हौ ।
तिमी
प्रकृतिले आकार दिएरै
निराकारबाट साकार भएका हौ ।
तर
यो सबै जान्दाजान्दै पनि
आफूले अरूलाई केही दिनुपर्दा
तिमीलाई किन यस्तो गा¥हो हुन्छ ?
एक मुठी भिख दिँदासमेत
तिमीलाई
किन आफ्नो मुटु नै काटेर दिएजस्तो लागिरहन्छ ?
ए मेरा प्रतिरूप !
खुल्लमखुल्ला नभने पनि
मलाई सुटुक्क भनिदेऊ न !
आफूलाई पृथक राखेर
अरूका पक्षमा मात्र हृदयले केही बोल्नुपर्दा
आफ्ना स्वार्थका तानाबानाहरू बिसाएर
अरूका हितमा मात्र सहृदय केही सोच्नुपर्दा
किन तिमीलाई ननिको लागिरहन्छ ?
किन तिम्रो मनमा हरदह
स्वार्थको खिचडी पाकिरहन्छ ?
किन तिमीसँग तिम्रो मनले
आत्महत्याको हिसाब मागिरहन्छ ?
सन्दर्भ–विश्व पर्यावरण दिवस–५ जुन २०२३)
वि.सं.२०८० जेठ २० शनिवार ०८:५७ मा प्रकाशित






























