बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा
घनिभुत तुवाँलो
आकाशमा मडारिएकै छ
बस्तीका भोका पेट
नाङ्गा तनहरु
अझै सडकमा वेवारिसेनै छन्
परिश्रमी कमिलाको बस्ती
छाकको पिरलोमा अनिदा रातहरु
ओढेर
सदीयौंदेखि जाग्राम बस्न विवश छ ।
गण्डकी कोशी कर्णालीको
निर्मल जलधारामा
सत्ताको फोहरी ढल मिसिएर
प्रदूषित बनेको छ ।
दसगजाको सिमास्तम्भमा
देशको भूगोल
पहिरो भएर खसेको छ
कालापानी लीपुलेक लीम्पियाधुरा
सन्तानले भिर्ने
खुकुरीमा
बाक्लो खिया लागेको देखेर
चिन्तामा डुबेको धेरै भयो ।
बुद्धको ज्ञानभूमि
ज्ञानको चिराग हराएको
बटुवा झै
गन्तव्यहिन बनेको छ
आफ्नै सन्तानको लापरबाहीले
बुद्ध
दिउँसै आफ्नू जन्मथलोबाटै
अपहरणमा परेको
श्रापित समय हो यो ।
वि.सं.२०८० जेठ २० शनिवार ०९:०३ मा प्रकाशित





























