
म्यामराज राई, भोजपुर हाल–जापान
‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ् फुरुङ्ङ हुँदै मनमनै बोल्यो । आँखाको चस्मा मिलाउँंदै आफ्नो नोटकपीमा मिति पनि टिप्यो ।
‘बाजे, नानी सोरे ? हिजुके दायो, नान्दे खाइतेमासका ?’ त्यो मिति किन लेख्नुभएको हो भनेर नानुले उनको हजुरबालाई हठात् जिज्ञासा राखी ।
‘फुकुवा देश ।’ पासाङ्ले नातिनीतिर नेपालीमा एउटा र अर्को जापानी गरी दुई शब्दमा जबाफ फर्कायो ।
प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन नातिनी बाजे मात्र कोठामा हुन्थे । पर्यटक भिसामा दुई महिना अघि जापान पुगेको पासाङ्ले जति जापानी भाषा जान्दछ । त्यति जति नै उसकी नातिनीलाई नेपाली आउँंछ । आक्कलझुक्कलमा दुवैजना एउटा भाषामा बोल्थे । नत्र दुईजना, दुई भाषामा हुन्थे । कि त दुई देशका भाषाहरू मिश्रण गरेर एक अर्काबिच सञ्चार प्रवाह गर्थे ।
‘फुकुवा त्ते नानी ?’ नानुले हजुरबालाई तुरुन्त फुकुवा भनेको के हो भनी चासो राखी ।
पासाङ्ले अलिअलि इन्टरनेट चलाउन सिकेको थियो । किशिदा, मास्क, रेल र सुपरमार्केट आदिको फोटाहरू गुगलमा निकाल्यो । नोटकपीको मिति देखाउँदै नातिनीलाई हातको इसाराले बुझाउन थाल्यो, “किशिदा प्रधानमन्त्रीले जापानको रेलयात्रा र सुपरमार्केटमा यो दिनदेखि कोरोनाकालीन मास्क नचाहिने घोषणा गरेको हो ।’