
दीनानाथ पोख्रेल, इलाम
सारा वर्ष भरी खुली फरफरी हौस्याउँदै भावना ।
नाच्ने प्रेम भुली वृथा दिवसमा झार्ने नहोस् कामना ।।
हो यो प्रेम मनुष्यमा सफलता सद्भाव बर्साउने ।
यौटा क्वै दिनमात्र प्रेम म गरूँ सङ्कष्ट हो पाउने ।।०१।।
सारा कष्ट उजाड पार्छ यसले उल्लास जन्माउँछ ।
मान्छे आयु बढेर रम्छ भवमा सङ्कष्ट पन्साउँछ ।।
सारा दर्द विकार चेत भरका धोएर सङ्लो हुन ।
राम्रो मार्ग चुनी बढेर युगको अग्लो सुमान्छे हुन ।।०२।।
मात्रै एक छ योग्य मन्त्र भवमा हो प्रेम आफ्नै बुझूँ ।
आयातीत हुँदैन प्रेम मनको यै ज्ञान पक्री उठूँ ।।
यो निर्यात कहीँ हुँदैन जनले हेरे स्वयम् बुझ्दछन् ।
आफ्नै संस्कृतिमा रमून् जन खुली शीतांशु नै चुम्दछन् ।।०३।।
आँखा चिम्म गरी गरे मनपरी भाग्यो उज्यालो गयो ।
आफ्नै वक्ष दुखेर कष्ट मुटुमा सन्ताप भर्नेछ यो ।।
भ्यालिन्टाइन प्रेमले मनुजको पोल्नेछ आफ्नो पन ।
डुब्दा संस्कृति सापटी लिन कतै पाइन्न जानून् जन ।।०४।।
गर्ने स्वाँग हुँदैन प्रेम दिलको हेर्दैन बेला घडी ।
भालाले तनमात्र दुख्छ जनको यो टोक्छ छाती बढी ।।
नेपाली अनुहार नै रिपु सरी खेल्छन् पराई बनी ।
आफ्नै खेल जसै गढेर मुटुमा घोच्नेछ भाला बनी ।।०५।।
छाडे वेश छ धार्नु व्यर्थ परको बेकार हो संस्कृति ।
आफ्नो त्याग हुँदा बढेर परको छोप्ला बनी दुष्कृति ।।
गर्दा नक्कल लाग्न सक्छ हितझैँ जाने त्यही हो भ्रम ।
नासो अग्रजको बुझेर मनुवा राखौँ बढोस् यै क्रम ।।०६।।
नौला संस्कृतिले दुखाउँछ हियो पर्नेछ आफैँ रुन ।
आफ्ना संस्कृतिले उठाउँछ हियो अग्लो कलाको हुन ।।
आफ्नो उर्वर सभ्यता सुकृत हो सङ्लो बनोस् यो खुली ।
त्यागे ताप अनेक भर्छ मुटुमा आउन्न आफ्नो डुली ।।०७।।
छन्द : शादूर्लविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : sss iis isi iis ssi ssi s