back
CTIZAN AD

कविता : कागजमा हारेको युद्ध

वि.सं.२०८० साउन ६ शनिवार

1.1K 

shares

नरेश कटुवाल,सोनादा, दार्जिलिङ

नसाभित्रको रातो रगत
रातो हुन छोडि़सकेर
हड्डीभित्रको बाक्लो मासी
सुक्दै–सुक्दै गएर
सासहरूको पातुलो ताँती
घिटघिट गरिरहने नलीहरू
अनि जीउमा टाँसिएका छालाहरू ओड़ेर
जीवनलाई धमिलो देख्न थालेको
एउटा हलुङ्गो मान्छे
कुनै दिन जुरूक्क बौरी उठ्ला
हिम्मतका खुट्टाहरू टेक्ला
विश्वासका भालाहरू समात्ला
अनि लड़्ला
जीवनसँग हार्न आँटेको युद्ध मृत्युसित
अनि जित्ला समयका कुरूक्षेत्रमा
आयुका महाभारत
यसमा कुनै शङ्का छैन कतै ।

बन्दुकको कमीमा
बारूदको भीषण अभावमा
सेनाहरूको अयोग्यताले
बारम्बार हारेका युद्धहरू
एक दिन त किन नजित्ला र?
कुनै दिन हार्नेहरूले पनि त
सल्काउलान् जीतको पटेका ।

समयको राजमहलबाट
लखेटिएका रोबर्ट ब्रसहरू
एकान्तबासमा बस्दा बस्दै
एक पल्ट फेरि उठ्न सिक्लान् माकुराहरूबाट
अनि गाउलान् एक दिन विजय धुन ।

हिउँदोको लामेताँत तिर्खाले
क्याप क्याप भएका खोलाहरूले पनि
प्रत्येक बर्खामा
जोड़ जोड़ले गाउलान्
जीतको तिखो सुसेली ।
यसमा कुनै शङ्का छैन कुनै ।

नियति मै शिकार भइरहनु पर्ने
भाग्नकै लागि मात्र बनिएका खुट्टाहरू
अनि मजबुरी र लाचारी टाँगेर
जीवनको अग्घोर मायामा
बाँच्न रूचाउने मृगहरू पनि एक दिन
पाखुरा सुर्काएर
गर्लान् सिंहको शिकार
अनि गर्लान् जङ्गलराज ।

पिठ्यूँ फर्काएर भागिहिँड़्नु पर्ने
हात फैलाएर मागिहिँड़्नु पर्ने
इज्जत हत्केलामा राखिहिँड़्नु पर्ने
विश्वकै लुखुरे दलले पनि
कसो नजित्ला मैदानमा जीवन खेल ?
यसमा शङ्का छैन कतै ।

हजारपल्ट हारेको युद्ध
मैदानमा जितिएला एक दिन
कैयौँपल्ट मरेको आत्मा
कसो नजाग्ला एक दिन ।

हिम्मतले हारेको युद्ध
साहसले हारेको युद्ध
बारूदले हारेको युद्ध
भूगोलले हारेको युद्ध
हारेर पनि हारेको युद्ध ?
जित्न सकिँदो रहेछ
लाखौँपल्ट लड़ेर पनि
उठ्न सकिँदोरहेछ
तर एकपल्ट हारेपछि
सही छाप गरेपछि
हस्ताक्षर दिइसकेपछि, अर्थात्
कागजमा एकपल्ट हारेपछि
जित्न नसकिँदो रहेछ
जित्न नसकिँदो रहेछ
कागजमा हारेको युद्ध
कागजमा हारेको युद्ध ।

 

वि.सं.२०८० साउन ६ शनिवार ०७:४८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...