ओमकुमारी बन्जारा रानाभाट
सामाखुशी, काठमाडौँ
गीता बिहान सवेरैदेखि योग ध्यान प्रणायममा व्यस्त हुने गर्थिन् । घरमा पालेको कुकुरलाई बिहानको खानाको व्यवस्था धन बहादुरले गर्थे ।
आफूलाई पकाउने चामल र कुकुरलाई पकाउने चामल मेसो नपाउने धन बहादुरले चामलको बोराबाट दुई टक चामल बसालेर कपाल काट्न गए ।
गीता नित्य कर्म सकेर भान्छामा पस्दा छक्क परिन् । ‘भात त पाकेछ । मेरो ज्ञानी बुढा..’मनमनै हाँसिन् । आफु पनि दाल, तरकारी र अचार बनाएर घरको अरू काम सक्नतिर लागिन् ।
छोरा स्कुल, श्रीमान र आफू अफिस जाने समय हुन लाग्यो । छिटो छिटो तीनवटा थालीमा खाना पस्केर डाइनिङ टेबलमा पुर्याइन् । खुशी हुँदै तीनैजना खाना खान थाले ।
‘गीता, यी कुन चामल पकाएकी ? भात किन नमिठो छ ?’, गीताले बुझिहालिन् । श्रीमानले कुकुरको लागि राखेर बोराको चामल पकाएको भात पो खाँदै थिए सबैजना । श्रीमानको हप्काइले एक्कासी गीताको अनुहारमा छाएको खुशी सेलायो ।
धन बहादुरले गीतालाई ‘बुद्धि नभएकी पशु’ भन्दै तथानाम गाली गरे । छोराले, ‘ठिकै छ त बुवा चामल चामलै हो । कुकुरले खाने भात आज हामीले खायौँ के भयो त ?’
धन बहादुरले गीताको थालमा आफ्नो थालको भात खन्याउँदै जुरुक्क उठेर चुठ्न गए । धन बहादुर भोकै र गीता मलिनो अनुहार लाउँदै छोरालाई स्कुलसम्म पुर्याएर दुवैजना आ–आफ्नो अफिसतर्फ लागे ।’
वि.सं.२०८० साउन ६ शनिवार ०७:५६ मा प्रकाशित






























