रचना दाहाल, झापा, हाल- कौशलटार, भक्तपुर
घरिघरि
ब्यूझाउँछ स्मृतिलाई
कुनै मुर्च्छनाले, कुनै स्पर्शले
म आफ्नै कालान्तरको मध्यमा अडिएर
फर्कन्छु समय तिर ।
छोडिएका खुड्किलाहरू
केही नयाँ लाग्छन्
अलि पर लाग्छन् ।
त्यहाँका ऊ,ऊ र ऊ
त्यो, त्यो र त्यो क्षण
अरे! यहाँ सबै नौलो छ
तैपनि म सम्मिलित छु ।
यो मेरै हो
जस्तो त्यो थियो ।
यहाँ पनि मैले
प्रित छरेकी छु
प्रित टिपेकी छु ।
मानौं, यही नै हो मेरो प्रिय परिबेश
जसलाई सजाउन मै
म ब्यस्त छु ।
मनको अनुभूति संग्रहमा
नविन शिर्षक थप्दै
यहिं भित्र हराएकी छु ।
लाग्छ संसार यही हो
यहाँ जस्तो छ ।
तर अवश्य …
घण्टाघर अझ बजिरहन्छ
किनकी म
घण्टाघर कै दासी हुं ।
वि.सं.२०८० साउन ६ शनिवार ०७:५५ मा प्रकाशित






























