विष्णुकुमार वराइली
डुप्टिन मिरिक, दार्जीलिङ
धर्मको बिषयमा,लडे मरे
धर्म हुन्न कहिले, यसो गरे ।
धुर्त मूर्ख भनिने, बुझौ सबै
प्रेममा जग भलो,दया उसै।१।
काट मार झगड़ा,भुली हिँड़ौं
प्रेम मान र दया,गरी बसौं ।
धर्म हुन्छ यसरी, सबै भलो
हुन्न पाप रहने, कुनै थलो ।२।
उच्च हौ निच तिमी,सधैं भनी
व्यर्थमा अहमको,सिँढ़ी चढ़ी ।
श्रेष्ठको असजिलो,कुरा गरी
त्याग मित्र अति भो,कुरा थरी ।३।
धर्मले सयममा,समेटिने
एकता मन सधैं,कसी दिने ।
भेदभाव नगरी,बसे निको
बाँधिएर सब नै,लहै छिटो ।४।
देखिने हरि यहाँ,जपे सबै
भेटिने प्रभु मनै, दिए तसै ।
एउटै हरि बुझौ, नभै दुई
ख्रीष्ट बुद्ध र खुदा,सबै लिई ।५।
छन्द : रथोद्धता
गण : SlS – lll – SlS – l – S
र, न, र गण, लघु , गुरु
सात अक्षरमा विश्राम ।
वि.सं.२०८० भदौ २ शनिवार ०७:५८ मा प्रकाशित






























