
ओम आचार्य, अर्घाखाँची
आगोको विउ रोपेर
सुडौला जिउ बनाउन आरन थापेकाहरू
सपनाको धाउ पिट्दा पिट्दै
एक दिन आगलागीमा पर्नेछन् ।
अनुमानको खेती गर्नेहरूलाई
मौसमले साथ देला नदेला
यसै भन्न सकिएन
लख मात्र काट्ने हो ।
आगोमा घिउ थप्न
कर्चुली हातमा लिएर बसेकाहरू
हर्पेको घ्यू सकिएको थाहा पाएर
पैँचो खोज्न हिड्ने छन् छिमेकतिर ।
तमासामा आशा टाँगेर बसेकाहरू
बास्सा ! भन्दै हौसिने छन्
मौकामा चौका लाग्छ कि भनेर ।
हलीहरूको रिस
गोरुहरूको डडाल्नोमा पोखिएर
सिप्किना भाँचिने छन् ।
भएको भूगोल
सकिने छ भएर गोल
र यौटा नयाँ नक्सा जारी हुनेछ बोलकबोल
त्यो बेला
गुरु चेला
हुर्मत ककस्को लेला
देखिएला नदेखिएला
यसै भन्न सकिएन
लख मात्र काट्ने हो ।
वि.सं.२०८० असोज १३ शनिवार ०८:०१ मा प्रकाशित