
ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं
हराएछ मान्छे समरमा कतै
भुलेको छ बाटो सफरमा कतै
छ पैदल हिँडेको प्रिया भेट्न ऊ
बिझेको छ काँडा पयरमा कतै
सधैँ धर्मको युद्ध भो देशमा
नयाँ धर्म आयो खबरमा कतै
यहाँ धरहराको कथा बन्छ अब
बनेको छ अग्लो सहरमा कतै
अधर चुम्न खोजेर उनले यहाँ
खुबै लाज लाग्यो नजरमा कतै
बहरः मुतकारिब मुसम्मन महजुफ
अर्कानः १२२ १२२ १२२ १२
वि.सं.२०८० असोज १३ शनिवार ०८:०१ मा प्रकाशित