वसन्त अनुभव, घोराही, दाङ
तिजको माहोल । गाउँका महिलाहरू चौतारीमा जम्मा भएर रमाउँदै थिए ।
‘ओहो कस्तो भोक लागेको । चक्करै पो लाग्ला जस्तो भो । हैन ए काइली ! तँलाई केही भएको छैन ?’ नाच्दानाच्दै थुचुक्क बस्दै बज्यैले भनिन् ।
‘के हुनु र बज्यै ? केही भएको छैन ।’ काइलीले स्वाभाविक रूपमा भनी ।
‘झन् यस्तै होला, भोक लाग्ला भनेर हिजो राति थपी थपी टन्न दर खाएको; केही नापेन । तैँले त दर पनि खाइनँ भन्थिस् । हैन कसरी खटाउछेस् ए ! भोक तैँले ?’ अचम्म मान्दै बज्यैले भनिन् ।
‘बानी प¥यो, बज्यै ! बानी प¥यो । एकदिन भए पो !’ काइलीले मलिन अनुहार पार्दै भनी ।
‘हैन ! के भन्छे यो ? के तँ दिनदिनै व्रत बस्छेस् र ?’ बज्यैले अनौठो मान्दै भनिन् ।
‘त्यही त भनौँ बज्यै । तपाईं पो हुनेखाने, धनी मान्छे । बेला मौकामा, चाडपर्वमा व्रत बस्नुहुन्छ । हामी त हुँदाखाने । चाहेर नचाहेर पनि धेरैजसो व्रतै बस्नुपर्ने हुन्छ ।’ दुखित हुँदै काइलीले भनी ।
वि.सं.२०८० पुस ७ शनिवार ०८:३९ मा प्रकाशित






























