धनसिंह गिरि,दाङ घोराही
स्वार्थी भएर बस्छन् नेता सदन पुगेर
होला विकास भन्दै जनता बसे कुरेर
हामी बस्यौँ डराई गर्छन् विदेशी साहस
नेपालका शिखरमा चढ्छन् निडर बनेर
हानेर लात हिँड्छन् पत्थर भनी कसैले
ईश्वर भनेर कोही बस्छन् तिनै पुजेर
हिँड्छन् तिनै निरन्तर गन्तव्यमा जो पुग्छन्
भेटिन्न लक्ष्य तिनको बस्छन् जो जन सुतेर
हात्ती डराउँदैनन् लम्केर हिँड्न थाल्छन्
दौडेर टोक्न खोज्ने थाक्छन् कुकुर भुकेर
बहर : मुजारे मुसम्मन अखरब
अर्कान : २२१ २१२२ / २२१ २१२२
वि.सं.२०८० पुस २८ शनिवार ०९:०३ मा प्रकाशित






























