नीलकण्ठ तिवारी,काठमाडौं ।
मलाई केहि हाइफाई चाहिएन
बाँच्ने वातावरण देऊ ।
मलाई कुनै स्वर्गको आश छैन
धर्तीमै जिउने ठाउँ मात्रै देऊ ।
मलाई कसैसँगै प्रतिस्पर्धा गर्न छैन
ज्यान जोगाउने मौका देऊ
मै आफू बन्न मात्र म बाँचेको होइन
सहकार्यको हातेमालो गर्न देऊ ।
सिकाई नित्य र निरन्तर अर्धजलसम्म छ
अब मेरो एउटै प्रश्न छ
बुढेशकालको कहालीलाग्दो जीवनबारे
व्यक्तिले सोच्ने की राज्यले ?
कसैलाई कसैसँग तौलेर तड्पाउन मन छैन
दुब्लाहरुसँगै डुबुल्कीन देऊ
क्षितिजको दूर सपनामा बहकीन भन्दा
मेरै निस्पटतामा छामछुम गर्न देऊ ।
ठगि, शोषण र लुटको खेतीमा कहिल्यै लागिन
त्यसैले त छानविनबाटै सुद्ध हुन देऊ
मलाई बुढेशकालमा चाहिएको एउटा स्वतन्त्रता
नतड्पिइकन मर्न भने देऊ ।
हामीले जर्बजस्त देवता मानेकाहरु
आक्रोश र आवेगमा राक्षस भनिएकाहरु
सबैलाई नियालीरहेको छु, आज
आखिर ती सबै मानिस नै रहेछन् ।
सिकाई नित्य र निरन्तर अर्धजलसम्म छ
अब मेरो एउटै प्रश्न छ
बुढेशकालको कहालीलाग्दो जीवनबारे
व्यक्तिले सोच्ने की राज्यले ?
वि.सं.२०८० पुस २८ शनिवार ०८:३५ मा प्रकाशित






























