शर्मिला कार्की ’शरु’
दोलखा, हाल- पोखरा
१
मेरो बोटमा फल्ने गर्छन् कविता र गीतहरू
मुक्तकका फल लाग्छन्, भावनाका जीतहरू
कल्पनाको बगैंचामा यो बोट सदाबहार हुन्छ
फलाइदिन्छ सधैंभरि सद्भाव अनि प्रीतहरू ।
२
म मेरो जिन्दगीलाई अझै सरल पार्ने सपना बुन्दैछु
अनेक चुनौतीहरूबाट आफैंलाई खार्ने सपना बुन्दैछु
समुद्री तूफानको बीचको डुङ्गा सम्झिएर जिन्दगीलाई
हेलिएकी छु र अर्को किनारामा उतार्ने सपना बुन्दैछु ।
३
बल्झिरहने रातहरू र जूनताराको प्रथा बेग्लै हुन्छ
एकातिर जून अर्कातिर ताराको कथा बेग्लै हुन्छ
पूर्णिमा र आसपासमा चम्किएका हुन्छन् जूनतारा
अनि,चम्किन नपाउँदाको समयको व्यथा बेग्लै हुन्छ ।
४
आफु मुस्कुराऊ,हाँस, तिमीसँगै संसार हाँस्छ
मायाँ गर ,स्नेह छर, तिमीसँगै प्रीति गाँस्छ
सद्भावमा संसार हुन्छ, यत्ति मात्रै बुझ्यौ भने
जिन्दगीले तिम्रो ओठमा मिठो मुस्कान आफैं टाँस्छ ।
५
तेरा पंख दे न चरी भुर्र उड्न सकूँ
पिरतीको सगरमाथा छुन पुग्न सकूँ
मनसँग मन मिलोस् तनसँग तन
आनन्दको तलाउमा पुरै डुब्न सकूँ !
वि.सं.२०८० माघ २७ शनिवार ०७:३१ मा प्रकाशित






























