कलानिधि दाहाल, काठमाडौं
खन्ती खोप्ने न हूँ आई साहित्य फाँटमा कतै
अङ्गार मनमा राखी फूलका छाँटमा कतै ।
खराबी भित्रका छोपी नचिच्याऊँ यता कतै
जे छु छर्लङ्ग हूँ आँत आकाशझैँ जताततै ।।
नभएका भरी बुट्टा नखोजूँ स्वाङ चम्कन
पाउ जमिनका छोडी नलागूँ ओठ गम्कन ।
छैन केही छु ज्यादाझैँ नदिऊँ मन सन्कन
भएँ यो नै भने झिङ्गा लाग्छन् ममाथि भन्कन ।।
गोली बन्दुक यो ह्वैन आक्रोश ह्वैन बारुद
क्षमतामा म जे हुन्छु त्यही हुने छ आरुढ ।
बच्कनापनको सीमा न हूँ साहित्यको घर
प्रशँसाको लिई भोक नबनूँ दिल जर्जर ।।
म पात हरिया राखी हात फैलूँ निरन्तर
फक्रेका फूलबास्नाले सदावहार सुन्दर ।
हेर्दा कवित्वका पङ्ति आफू पाऊँ सदा सब
शब्दका अर्थमा भेटूँ म बन्ने मन गौरव ।।
गरून् हल्ला सुनी राखूँ हल्का हुन् तिनका दिल
दिनु उत्तर पर्दैनन् आफैँ छन् हुन थाङ्थिल ।
बलको शिर हो लज्जा हिलो लज्जा ढली ढली
पसिना भिज्दछन् आफैँ जो गर्छन् स्वाँठ खल्बली ।।
पश्चाताप हुने कालो नबनूँ मनमन्दिर
जे हो स्वाट्ट त्यही मात्र बनूँ आफैँ मनोहर!
सिनो देखी नदौडौँ म गिध्दझैँ नभको तल
फूलबुट्टा भरी दास न हूँ गरेर खल्बल!!
बङ्गूर खोरमा बस्छ खोर नै स्वर्ग ठान्दछ
खान पाए मजासाथ दिने देव ऊ मान्दछ ।
कुवाका भ्यागुता सारा संसार ठान्दछन् कुवा
जिब्रो चमक्क चम्कन्छ पाउँदा दासले खुवा ।।
मन बङ्गूरमा राखी नपसूँ खोरमा कतै
अनुशासनको धाक राखोस् बङ्गूरले कतै ।
खोलूँ छ्याङ्ग छ आँखामा देखिने गर्जूँ गर्जन
पाखण्ड खण्डका सामु नगरूँ म समर्पण ।।
अपराध हुने भित्र चिप्लो बन्दछ बाहिर
औपचारिक हूँ भन्दै खोज्छ ऊ हुन माहिर ।
आफैँ बोलेर जिब्रोले ऊ परिचय छर्दछ
नसा धक्कू हुने आफैँ कालको पास पर्दछ ।।
छन्द : अनुष्टुप
वि.सं.२०८० माघ २७ शनिवार ०७:३३ मा प्रकाशित






























