अनुराग अरुण, ललितपुर
मेरो बेस्सरी याद आए के गर्छौ
नयन आँसुले झन् रसाए के गर्छौ
वितेका कुराको मिठो सम्झनाले
अझै भित्र मुटु पो दुखाए के गर्छौ
दुई दिन हो जीवन न भाका भरोसा
कतै दैवले नै छुटाए के गर्छौ
कुनै पल झझल्को कि आएर मेरो
सधैँ रात भर नै सताए के गर्छौ
मलाई नगर्नू अधिक धेर माया
समयले विछोडै गराए के गर्छौ ।
बहर : मुतकारिब मुसम्मन सालिम
बजन :१२२ १२२ १२२ १२२
वि.सं.२०८० फागुन ५ शनिवार ०८:०१ मा प्रकाशित






























