भूपाल अधिकारी, बिराटनगर
१.
भन्छु घट्घटी पिऊँ पच्दैन्
तागतिला कुरा दिऊँ पच्दैन्
दुनियाँले झुसिलो डकारी सके
कुकुरलाई भन्ने घिउ पच्दैन्
२.
चट्नी झैँ आँसुको दह चाट्नेहरू छन्
पसेर मनभित्र भित्री तह चाट्नेहरू छन्
अरुकै टाँग मुनी नाक जोतेर सधैंभरी
यहाँ सिरक ओढेर मह चाट्नेहरू छन्
३.
धारण गरी राख मौनता तिमीले बोल्नु हुँदैन
के के छन् तिम्रा बाध्यता तिमीले बोल्नु हुँदैन
भोक भोकै मरुन् कि अन्यायमा परुँन् मान्छेहरू
तिमी हौ पत्थरको देवता तिमीले बोल्नु हुँदैन
४.
कसले बर्साएछ कहर एक मन्दिरको कुप्रो माथि
जिन्दगीलाई राखेकाछन् मुस्किलको थुप्रो माथि
सिर्फ असिना, पानी मात्र हो र यहाँ खस्ने भनेको
आगोका लप्का खसिरहन्छन् गरिबको झुप्रो माथि
५.
सुन हैन पित्तल लेपन गरेको एउटा तामा हुँ
कहिले भाग्यमानी नभन द्वापरको सुदामा हुँ
देख्दैनन् कसैले नि दर्दमा छट्पटिएको मलाई
म मष्तकको पीडाले भड्किएको अश्वत्थामा हुँ
वि.सं.२०८० फागुन ५ शनिवार ०८:०० मा प्रकाशित






























