भुवन शिवाकोटी चौघरे, काठमाडौं
हिड्दा हिड्दै
अचानक
अपत्यारिलो बाटोमा भेटिने तिमी
बोल्दा बोल्दै
जब
मुटुको ढुकढुकी पुगेर थुनिन्छौ
साँच्चै !
जीवन यात्रामा
उकालोमा भेटेको लौरोले जस्तै
बढाउँछ
आड भरको विश्वास
र त
शब्द शब्दमा
भाव र लयमा
मनका दुख साँटिन्छन
खुसी बाँडिएका हुन्छन
एक्लो यात्रामा
जब तिमीलाई हृदयमा पाउँछु
नदिको बाटोमा हुँदा
लाग्छ
तिमी नदी म बगर हुँ
बगैंचाहरूमा डुल्दा
लाग्छ
तिमी फुल म डाली हुँ
मनसुनमा रमाईरहदा
लाग्छ
तिमी बादल म पानी हुँ
अग्ला डाँडाहरूको क्षितिज हेरेर
आफैभित्रको तिमीलाई हेरिरहदा
लाग्छ
तिमी धरती म आकाश हुँ
शरद ऋतुका फूलहरू मगमगाएपछि
लाग्छ
तिमी फूल
म तिम्रो अन्तरङ्गमा घुलिएको
सुवास हुँ
थकानका बिश्रामहरूमा
जब निस्कन्छन लामा सुस्केराहरू
लाग्छ
तिमी प्राण म निश्वास हुँ
कसरी बस्यो
आँखा र दृष्टि जस्तो सम्बन्ध
कसरी जोडियो नङ र मासु जस्तो सम्बन्ध
कसरी गाँसियो मन र मुटुको धड्कन
प्रिय ! कविता
यस्तै छ आजकाल मेरो खेती
के लेखें
कति लेखें
किन लेखें
जे लेखे पनि
जति लेखे पनि पुग्दैन रहर
भरिदैन तिम्रा स्पर्शले मन
जहाँ जाउँ
छोड्न मान्दै मान्दैनन् जिद्दी आँखा
बिर्सन दिदैन मुटुको ढुकढुकी
आईहाल्छौ तिमी
र
कलमभित्रका मसिका थोपाहरुमा
पोखिन्छु म
बारम्बार पोखिईरहेको छु म
प्रिय !
तिमी मेरो कविता
म तिम्रो कवि ।
वि.सं.२०८० चैत २४ शनिवार ०७:३९ मा प्रकाशित






























