कल्पना अधिकारी, टोखा, काठमाडौं
म गर्छु छन्द साधना र लेख्छु पञ्चचामर ।
उचाल्छु नाम राष्ट्रको झिकेर शक्ति जाँगर ।
म फाल्छु झारपात यी घुरान देश बाधक ।
म एक रत्न देशको कला गला सुसाधक ।१।
म खेत उर्वरा गरा विशाल वन्य जङ्गल ।
उठाउँने छु यो धरा बनाउँदै समुज्जल ।
म कीट सूक्ष्म हूँ उही विराट् म ह्वेल, चित्तल ।
म स्वर्ण रत्न हूँ मुगा र हैन तुच्छ पित्तल ।२।
मयूर कोइली चरी, रमा, उमा र देवकी ।
म एक अंश वीरकी र मातृ शक्ति सृष्टिकी ।
पुराण वेद ज्ञानका हजार लाख पुस्तक ।
पढेर बुझ्छु विश्व यो र बन्छु मार्ग दर्शक ।३।
हरा पहाड, फाँट हूँ मकै र धान फापर ।
म बन्छु हैमकी नदी बहन्छ जो निरन्तर ।
शरद् वसन्त ग्रीष्म हूँ सदाबहार मौसम ।
पराग राग छर्नमा प्रसून बन्छु हर्दम ।४।
स्वराष्ट्र सम्पदा सबै म काव्यमा अटाउँछु ।
जहाँ कमी छ जे कुरा म शिल्पले सजाउँछु ।
मुहार मातृभूमिको म पूर्णिमा बनाउँछु ।
विदेशिँदैन कोइली, स्वदेशमै रमाउँछु ।५।
म संस्कृति स्व–देशको चलाउँदै छु जो रथ ।
म कालिका र मालिका प्रसन्न राख्छु गोरख ।
अहस्तक्षेप नीति हूँ, थिचोमिचो म मान्दिनँ ।
म कर्मनिष्ठ सारथी स्वधर्मदेखि भाग्दिनँ ।६।
म भानु देशमा कुवा खने भने सघाउँछु ।
विभूति हूँ म एकता सदैव मन्पराउँछु ।
म केशपाशमा सँधै गुराँस नै सजाउँछु ।
म राष्ट्रको ध्वजा दिगो दिगन्त फर्फराउँछु ।७।
म कर्म, धर्म, भक्ति हूँ म शान्ति, कान्ति कोमल ।
पवित्र भाव छन् ममा छचल्किँदै सुनिश्चल ।
परोपकार गर्नमा म ज्यान फाल्छु साँच्दिनँ ।
अथाह जोस छन् ममा म खट्छु,डट्छु थाक्दिनँ ।८।
छन्द : पञ्चचामर
गण : ज र ज र ज गु
गण सङ्केत : lSl SlS lSl SlS lSl S
वि.सं.२०८१ जेठ १२ शनिवार ०९:०२ मा प्रकाशित






























