ध्रुबप्रसाद गजुरेल, काठमाडौं
सन्तान साथ बस्दा बन्धन रहेछ माया
मर्दा ऊ हुन्छ एक्लै मन्चन रहेछ माया
उसको उमेर हेर्दै सोच्तै छु आज आफैँ
पक्का अठार नाघ्दा यौवन रहेछ माया
जब कृष्णले सुदामा भेटेर बोल्न थाले
पीडा सबै भुलेका गन्थन रहेछ माया
स्वार्थी भएर होला एक्लै ऊ बस्न थाल्यो
साँच्चै बुझेर हेर्दा कञ्चन रहेछ माया
आफ्नै प्रिया बितेको देख्दै छु आज साथी
पीडा सहेर बस्ने तड्पन रहेछ माया
चढ्दै छु धरहरामा सोच्दै कुरा अनेकौं
ढल्नै हुँदैन अब यो धड्कन रहेछ माया
बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफऊल फाइलातुन मफऊल फाइलातुन
वजन : २२१ २१२२ २२१ २१२२
वि.सं.२०८१ जेठ २६ शनिवार ०७:१२ मा प्रकाशित






























