कलानिधि दाहाल, काठमाडौं
उज्यालो दिलको दीप दीपजस्तै भई बलूँ
प्रचण्ड तेजको गर्मी शीतजस्तै भई चलूँ ।
जम्ने बरफको बेला तातो तुफानमा झुलूँ
देखिने पहरामाथि सुनाखरी अझै फुलूँ ।।
रुञ्चे छन् घरमा आँसु अनन्त उक्लिऊँ उता
झुण्ड खल्ला सबै छाडी सीमा यी फुक्लिऊँ उता ।
थरी छन् शैलमा शैल एक देखिन्छ यो यता
नदी सहस्रमा एक सागर यो जतातता ।।
इन्द्रेणी तनमा एक सप्त अङ्ग अलग्गमा
वीणा झङ्कारमा एक छन् सञ्चार अलग्गमा ।
मान्छे स्वरूपमा एक स्वभाव छन् अलग्गमा
अङ्ग यो देखिने एक अहङ्कार अलग्गमा ।।
सागर गतिको हेरी किनारा नचुमूँ किन
छेक्ने ढिस्का भए फोरी अनन्त नघुमूँ किन ?
पत्थरका कडा डाँडा जोडधक्का न द्यूँ किन
बाधारहितमा शान्त सङ्गीत नपिऊँ किन ??
नदेखिने बगी भित्र संसार नघुमूँ र म
मिठो अदृश्यको यात्रा आफैँमा नचुमूँ र म ?
गालीका शब्द फालेर आली नचिल्लिऊँ र म
वासन्ती पालुवा पट्ट नफुटेर रहूँ र म ??
अन्यायका भए लाम दिऊँ धक्का धमाकमा
न्याय सलामका पञ्जा फैलिऊँ एकछत्तमा ।
अपूर्व पूर्वको लाली खाली मुहारमा झरूँ
नयाँ स्पर्श दिने रङ्ग लिई अङ्ग सबै भरूँ ।।
वृध्दका गीतका शब्द बर्बाद नगरूँ पल
चेतनाका भए दीप बल्छन् झल्मल झल्मल ।
उपदेश झिकी थोत्रा नगरूँ कत्ति खल्बल
लक्ष्य एक नयाँ उक्ली टेकूँ यी शैलका तल ।।
पहरा पाउमा राखी लाऊँ मलम घाउमा
प्राप्तिका आसले झुक्ने नबनोस् शिर पाउमा ।
सीमास्वार्थ सबै तोडूँ गोडूँ निस्वार्थको जग
दुवै हात खुला राखी देखिऊ दिल जग्मग ।।
खानु लाउनु बस्नाका च्यातूँ पाना म चर्चर
गन्गने गन्थने भाका जलाऊँ सबका घर ।
झल्झलाकारका ज्योति यात्रा रहस्यमा झरूँ
झिलिक्क झिल्किने बाँन्की नौला सबै भरूँ ।।
छन्द : अनुष्टुप
वि.सं.२०८१ असार १ शनिवार ०८:१५ मा प्रकाशित






























