कोपिला बर्देवा, काभ्रे, हाल-काठमाडौं
अरुको लागि किन जीवन सक्छौ ?
तिमीलाई जीवन मानेर बाँच्ने
आमा बुवालाई किन रुवाउँछौ ?
समाधान बिनाको समस्या हुँदैन
यो तिमिले नि बुझ्नु पथ्र्यो
खाउ–खाउ लाउ–लाउको उमेरमा
किन घाट रोज्नु पथ्र्यो ?
सम्झना छ मलाई अझै !
त्यो दिन पुरै गाउँ नै सुनसान भएको थियो
कहिले मर्ली भन्नेहरुको पनि आँखामा आँसु थियो
तिम्रो मृत शरीर पनि उठ्छ झै गर्दै थिए सबै
बटुवाले समेत सानै रहिछ बिचरा भन्दै थिए
तिमीले कुन हिम्मतले यस्तो बाटो रोज्यौ ?
मर्नु नै पर्ने के त्यस्तो कारण भेट्यौं ?
आवेशमा आयौ कि, जीवनदेखि हार खायौं
बाटोहरु धेरै थिए खुसी हुने,
कहिल्यै नफर्किने बाटो किन रौज्यौं ?
परिवारले तिमिमाथि देखेका तमाम सपना,
अब कुन जुनीमा पूरा गर्छौ ?
ऋण माथि ऋण थपेर गएकी छौ त्यो
अब कहिले आएर तिछ्र्यौ ?
वृद्ध आमा बावुलाई खुसी बनाएर पाल्छु भन्थ्यौ ?
कहिले आएर खुसीसाथ पाल्ने निधो गरेर,
तिमीले व्यर्थ टाढाको यात्रा तय गर्यौ ?
सहजताको लागि बिचैमा बाटो फेरिदिने ?
कर्तव्यबाट भाग्न आफै विलीन भइदिने ?
आफ्नो खुसीका लागि जन्मदातालाइ रुवाइदिने ?
आमा बाबुमाथि न्याय गरेजस्तो लाग्छ तिमिलाई ?
प्रश्नहरु धेरै छन् !
ब्युझिँएर उत्तर दिन सक्छ्यौं र ?
सबैलाई मर्नुको कारण दिन सक्छ्यौं र ?
जीवनमा तितो मिठो दिन त सबैको आउँछ
तिमिलाई अहिले नै हार खानु पर्ने थियो र ?
तिमीले हिम्मत गरेर आफ्ना लागि बाँचिदिएको भए
तिमीलाई रुवाएर हाँस्नेका सामु हाँसेर बाँचिदिएको भए
कहाँ अन्धकार हुन्थ्यो र तिम्रो घर,
किन रुन्थे र बावुआमा
किन प्रश्नहरुका खात बोकेर दुःखले सुकसुकाउथ्यौ हामी ?
तिमीले रोजेको बाटोले कसैलाई सुख दिएन साथी
सोध, तिम्रै आत्मालाई पनि,
उ पनि यहि कतै छट्पटाइरहेको होला !
वि.सं.२०८१ असार ८ शनिवार ०८:१२ मा प्रकाशित






























