नारायण खनाल नीलम्, अर्घाखाँची
चकित छ मन !
सुनेर
अक्षरसँग सम्बन्ध तोड्ने
शब्दहरुको निर्णयले !
पानीसँगको सम्बन्ध जलाउने
खोलाहरूको निधोले ।
सोचमग्न छ मस्तिष्क !
के होला ?
–भ्रुणले पाठेघरसँग सम्बन्ध तोडे
अनि
हुने के होला ?
सौर्न्दर्य अग्लिने भ्रममा
नाता तोड्यो भने
बोटसँग फूलले ।
परिणाम
एउटै हुन्छ
चढेपछि
यौवनको लालित्य
घामका किरणमा
जसरी
मेटिन्छ नामोनिसान
शीतको
उसैगरी
समाप्ति
अहंको अस्तित्व ।
वि.सं.२०८१ असार २२ शनिवार ०७:२५ मा प्रकाशित






























