हृषीकेश बराल, पोखरा, कास्की
यो मेरो स्वर्गजस्तो, मन मुदित हुने, ठाउँमा जन्म पाएँ
नेपाली बन्न पाएँ, तन मन वचसा, हर्ष मानी रमाएँ ।
मैदानी लेक बेंसी, अवनितल छ यो, भिन्न भूगोल उस्तै
वर्षैपिच्छे विदेशी, विविध मुलुकका, घुम्न आए प्रशस्तै ।।१
शंशा गर्छन् सबैले, भुवनभर पुगी, स्वर्ग नेपाल भन्छन्
फर्किन्छन् दोह¥याई,पटकपटक ती,शान्ति पायौँ कहन्छन् ।
भन्छन् नेपाल आई, भ्रमण जति गरौँ, तृप्त हुन्नौँ घुमेर
कस्तूरी बाघ हात्ती, पशु विविध चरा,हेर्न खोज्छन् रमेर ।।२
देख्छौँ रङ्गीविरङ्गी, विहग विटपमा, सुस्थ डाँफे मुनाल
साह्रै राम्रो तराई, समथर वसुधा, माथि हेर्दा हिमाल ।
चौंरी डुल्छन् हिमाली, चरि चरन अहा ! लाग्छ साह्रै कमाल
टारी भन्ज्याङ खोल्सी, दिनहुँ भनिरहे, रूप हाम्रो सँभाल ।।३
खोला झर्ना कुवा छन्, दह नद सरिता, ताल सर्वत्र देख्छौँ
पानीका स्रोतमा छौँ, भुवनभर धनी, गर्वले भन्न सक्छौँ ।
हीरा माणिक्य मोती, कनक रजत यी,उब्जिने देश हाम्रो
धर्तीको स्वर्गजस्तै, सुरपुरसरिको,लाग्छ लावण्य राम्रो ।।४
वैरीलाई हराए,समर जब भयो, भाग्नुपर्ने बनाए
पुर्खाको वीरगाथा, विगत समयमा, पढ्नुपर्ने रचाए ।
यस्तो नेपाल हाम्रो, अरि रण विजयी, विश्वमा छैन अर्को
राखौँ हाम्रो प्रतिष्ठा, रण कुशल तथा, वीरको शौर्य चर्को ।।५
हाम्रो सौन्दर्य अर्को, पनि छ मुलुकमा, रोगका ओखती छन्
यार्सागुम्बा धकायो,धमन निरमसी, काकवल्ली यहीँ छन् ।
इन्द्रेणी शक्तिगुम्बा, ऋषभक कुरिलो, शक्तिशाली बुटी छन्
गोलेतो स्यालफुस्रे, टम चुतिलहरा, दुग्धफेनी निकै छन् ।।६
भाषा संस्कार हाम्रा, चलन विविध छन्, धर्म मान्छौँ अलग्गै
हामी नेपालबासी, सकल मिलिरह्यौँ, द्वन्द्व छैनन् पटक्कै ।
यस्तो ज्यादै मिलेको, मुलुक भुवनमा, खोजिए पाइँदैन
बाँधिन्छौँ एकतामा,गुट फुट नगरी, मित्रता तोडिदैन ।। ७
छन्द : स्रग्धरा
गण : म र भ न य य य
सङ्केत : SSS SlS Sll lll lSS lSS lSS
वि.सं.२०८१ असार २२ शनिवार ०७:२७ मा प्रकाशित






























