अलख निरन्जन लोहार
टीकापुर, कैलाली हाल- भारत
माटो राख ललाटमा मन बुझोस् जानोस् यसैको फल,
मेरो हो शिर पाउसम्म बहने नेपालको यो जल,
हे आमा म त काखमा लडिबुडी पोल्टो भरी खेल्दछु,
त्यो आशिष् शिरमा भए भुवनको गाह्रो सबै झेल्दछु ।१।
मेरो माथ हिमाल शैल शिरको टोपी त हो जान्दछु,
कर्णाली तट वृक्षका उदरमा यो ज्यान छ मान्दछु,
कस्तो सुन्दरता पहाडमुनिको प्यारो तराई धरा,
झुल्छन् धान सुगन्धमा नित झुली फल्छन् सुनैका गरा ।२।
मिठा व्यञ्जन खेतका बिच पुगे बिर्स्यो कथा गन्थन,
खेती हो घर बिस्तरा पनि सबै खेतै त हो आँगन,
मेरो सुन्दर शान्त देश जगको हो स्वर्गको आँचल,
हुन्छन् साँझ विहान साफ दिलका ती वीरका प्राञ्जल ।३।
लाखौंका दुख हर्दछन् सबजना सम्मानको आलय,
गर्छन् आपसमा बडो मधुरले मीठा कुरा सञ्चय,
दिन्छन् भाष्करले उँचो सगरको उत्साहको मौसम,
गर्मी छल्न परोस् चिसो सिरकमा आयो भने सम्झन ।४।
यस्तै ठाँट छ हेर गाउँघरमा पानी पँधेरो गरी,
गर्ज्यो मेघ पहाडका सगरमा झर्छन् मजाले झरी,
मेरै आँगन लाग्छ खूब रसिलो प्यारो छ आफ्नो घर,
मेरो देश म भित्र बस्छ जहिले अर्को कहाँ पो छ र ।५।
छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS llS lSl llS SSl SSl S
वि.सं.२०८१ असार २२ शनिवार ०७:२९ मा प्रकाशित






























