भूपाल अधिकारी, बिराटनगर
कसैको बलेको चुलोझैँ जवानी
त्यही बल्छ आगो त्यही तात्छ पानी
म कैदी म बन्दी हुँ यौटा महलको
हुँ पानी कसैले दिने फूलदानी
नरम मन छ मेरो रुवाझैँ छ कोमल
त्यसैले नगर्नू सदा छेडखानी
तिमी आज वर्षा बनी बर्सिएछौ
बलेसीको ढुङ्गो छ मेरो सिरानी
सधैँ दीप्तिमय प्रेम सौन्दर्य टिप्छु
मलाई भयो प्रेयसीझैँ बिहानी
बहर : मुतकारिब मुसम्मन सालीम
वजन : १२२ , १२२ , १२२ , १२२
अर्कान : फऊलुन फऊलुन फऊलुन फऊलुन
वि.सं.२०८१ असार २२ शनिवार ०७:३० मा प्रकाशित






























