डा. विदुर चालिसे, काठमाडौं
समारोह के सुरू भएको थियो । माइक समाउन नपाइकनै उद्घोषकको मुक्त कण्ठ खुल्न थाल्यो । अघिपछि लजाएर बोल्दै नबोली घुरिरहने उद्घोषक तबलाको टम टम, टमा टम, ता धि धि धि ता नि ध गरेर प्रमुख अतिथिको प्रसस्ती पढ्न थाले ।
‘हाम्रा अति समादरणीय अपूर्व माननीय, यो राष्ट्रका नायक, जनताका गीतका गायक, नेतृत्वका लायक भोगराजज्यूलाई आशन ग्रहण गर्न अनुरोध गर्दछु !’
भोगराजज्यूको टाउकोको सिउर खुब अग्लियो । उनी टाउको र मुण्टो हल्लाउँदै मछलीको जल नृत्यको शैलीमा भीडभाडमा तरङ्गित हुँदै मञ्चको छेउमा पुगे । आशनमा गणेशजी पारामा बसेर एलिशेसन कुकुरले झैँ टाउको हल्लाइरहे । उनको वरपर साधु आमाहरू, स्वर्ण सुन्दरीहरू, आशामुखी अवलाहरू एवं लज्जाले भुतुक्क भएका यौवनाहरू छेउछाउ पुगेर कानेखुसी गरिरहेका थिए । अपूर्वज्यू वाल्ल परेर जीवनको कुनै विचारले ग्रस्त भएर घुरिरहेका थिए । यत्तिकैमा गणेशको छुचुन्द्रो आएर चिँ चिँ गर्दै कराएर भन्यो ।
‘उता जान हतार भयो, हजुर !’
‘कहाँ जान ?’
‘भगवान् माता पिताको सेवामा !’
नाडीको घडिमा साँझ परिसकेको थियो । धैर्यवान जनताहरू हरेक वक्ताको भाषणमा ताली ठोकिरहन्थे । तालीको आवाज परपरसम्म सुनिन्थ्यो । झर्काे लाग्नेहरू दायाँ बायाँ सडकतिर ओहरदोहर गरिरहेका थिए । यत्तिकैमा लामो समारोहका बिच अपूर्वज्यूले देश देशावर फुक्न थाले ।
‘विकास त तपाईं हाम्रो पालामै सम्भव छ !’
सबै दर्शक हौसिए । तिनको मुखबाट निस्किरहेको आशामुखी ज्वारको धुलो हावाजस्तै उडिरहेको थियो । मनमनै एकछिन भए पनि आत्मरति गरेर सबै घर फर्के । घरको छेउछाउ पुग्न नपाउँदै सबैले सुने ।
‘नुन, अब नपाइने भयो !’
बुढाबुढीहरू आत्तिएर कराए ।
‘अरूको नुन खानेले देश बनाउँछ त ? विकास सम्भव हुनु !’
तिनीहरूसँग एकछिन अगाडि भरिएको पूरापूर उत्साह, उमङ्ग र पत्यारका कथनले ठडिएको सिउर एकाएक झुक्यो। बाटोमै उफ्रे ।
‘हाम्रो पालामा अब केही सम्भब छैन !’
झण्डा बोकिरहेको लुर्लुरे हल्लाखल्ला गरेर उफ्रिरहेको थियो ।
‘यो हाम्रो पकेट भोट एरिया हो, यार !’
वि.सं.२०८१ असार २२ शनिवार ०७:३३ मा प्रकाशित






























