back
CTIZAN AD

कविता : बर्षा याम

वि.सं.२०८१ असार २२ शनिवार

2K 

shares

रमा खतिवडा, पोखरा

बर्खा लाग्यो जलमय धरा मृत्तिका जग्मगायो
डाँडा पाखा हरित वनमा पालुवा मुस्कुरायो
थुम्का कान्ला चहुर हरिया मञ्जरी छन् झुलेका
सानासाना कुसुमकलिका बागमा छन् रमेका ।१।

हेर्दाहेर्दै गगनभरिनै मेघ दौडिन्छ कालो
फन्को मार्दै शिखर चुचुरा ढाक्छ उस्तै तुवाँलो
पर्दा पानी कृषक सब छन् मक्ख पर्दै हिँडेका
माटोमा नै रगतपसिना छन् सबैले दिएका ।२ ।

गर्छन् खेती अथक बनिँदै खेतबारी छ प्यारो
उठ्छन् चाँडै झटपट लिँदै काम गर्नै हतारो
भिज्छन् पानी झमझम परे घाम चर्को सहन्छन्
पक्कै मिल्ला फल श्रम गरे आस साँचेर बस्छन् ।३ ।

बेठी बाजा मधुर धुनमा गीत सुन्दै असारे
नाच्दै खेल्दै दवदब हिलो चल्न थाल्छन् बियाडे
चाम्रे खाजा नरम रसिलो आलु तामा छ मीठो
पानी पानी सबतिर हुँदा झन् खुसी बर्सिएको ।४ ।

काँक्रा फर्सी कटहर अहो आँप पाके पहेँला
तामा बोडी लहलह भए फल्न थाले घिरौँला
रङ्गी चङ्गी भ्रमर पुतली फुल्न थाले बगैँचा
धर्ती सारा जगमग भयो फेरि आएर बर्खा । ५।

छन्द : मन्दाक्रानता
गण : म भ न त त गु गु
सङ्केत : SSS Sll lll SSl SSl S S
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८१ असार २२ शनिवार ०७:४६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...