महेश श्रेष्ठ, धरान
बाजे ओ बाजे
तिमीले कुमाऊ र गढवालको वीरता नदेख्दा
तिमीले लखनौ र देहरादुनको व्यथा नसुनाउदा
तिमीले टिष्टा र घुमपहाडको गीत नगुनगुनाउदा
तिमीले मात्रै मात्रै कान्तिपुरी अमरावती गाउदा
हेर त
हामी मेची र कालीमा कस्तरी साँघुरिएका छौ
लिपुलेक र मानेभन्ज्यांगमा बेस्सरी दुखेका छौ
विरगन्ज र जोगबनीहरुमा निस्सासिएका छौ
मधेश र पहाडमा सीमा कोरेर विभाजित हुँदैछौ .
बाजे ओ बाजे
तिमीले उडुस् उपियाँको नृत्य मात्रै बयान गर्दा
तिमीले चिप्लो घसेर ख्वामितको स्तुति लाउदा
तिमीले नारी मुक्तिलाई बधुशिक्षामा बयान गर्दा
तिमीले स्वतन्त्रता र विद्रोहको कथाहरु नभन्दा
हेर त
अक्षर खिप्न नपाएर तिघ्रे, स्वाँठे भए हाम्रा बाजेहरु
नाम्ले, ढाक्रे, कुल्ली, बहादुर भए हाम्रा काकाबाऊहरु
सोनागाछी, शेखहरुको महलमा दामी भए नानीहरु
५५ डिग्रमा गलेर खाडी लाहुरेमा नामी भयौ हामीहरु.
बाजे ओ बाजे
तिमीले मात्रै रामायण लेख्यौ मन्धुम नलेख्दा
तिमीले घाँसी मात्रै भेट्यौ विशे नगर्चीहरु नभेट्दा
तिमीले जन विर्सेर श्री ५ र ३ हरुको जय लाउदा
तिमीले बुध्द, जनक, भृकुटी र अरनिकोहरु भुल्दा
हेर त
आज पहिचान र मुक्तिका नाममा उधुम्म हुँदैछ देशमा
अझै काकुल छ गाऊँवस्तीहरु र निषेध छ दैलोहरुमा
नेपाली नागरिकता च्यातेर खुसी हुँदै छन् डिभी र पिआरमा
अझै रैतिको पीडा हामी भोग्दैछौ यहाँ अनेक भेषहरुमा.
बाजे ओ बाजे !
तिम्रो नाक अलिकति थेप्चो थेप्चो हुनु पर्थ्यो
तिम्रो आँखा अलिकति चिम्सो चिम्सो हुनु पर्थ्यो
तिम्रो रंग अलिकति कालो कालो हुनु पर्थ्यो
तिम्रो उचाइ अलिकति पुड्को पुड्को हुनु पर्थ्यो
हेर त
अनि पो हुन्थ्यौ तिमी हाम्रो आकाशको अवि
अब खै कसरी भनु अंध्यारो चिर्दै उदाएको रवि
भन खै कहाँ छ तिमीमा हाम्रो त्यस्तो आदि छवि
तैपनि श्रध्दाले नमन गरे हे भानुभक्त बाजे कवि !
वि.सं.२०८१ साउन ५ शनिवार ०७:३१ मा प्रकाशित






























