सुधिर थापा, काठमाण्डौ
कालो बादल झन् उठेर नभमा ढाकेर बढ्दै छ यो
आफैँ शान्त थियो बिशाल धरती कस्तो भएरै गयो
खेप्दैछन् कसरी असंख्य जनले भोगेर यस्तो दिन
देख्दैछन् अनि यो बिनाश सबले बुझ्दैन कोही किन ?
गर्छन् दम्भ अझै भुलेर कसरी आगो चिनेता पनि
बैशाखी अरुको लिएर किन हो लड्दै गएका अनि
लड्ने भो कुहिनो चिनेर पहरा सक्ला र के जित्न ऊ
गोला झर्छ सयौँ बलेर कसरी सक्ला र के टिक्न ऊ ।
मान्छे हिंस्रक भै बिनाश पथमा बढ्दै गएको छ यो
गर्दा झन् यसरी घमण्ड जनले सङ्हार आफ्नै भयो
मान्छे यो कमिला समान कसरी मर्दै गएका यहाँ
हाम्रो जन्मभयो अमूल्य कति यो पाइन्छ यस्तो कहाँ ।
लाखौं मानिस यी अनाथ रहँदा रोएछ धर्ती पनि
बल्दैछन् अझ यी असंख्य घर नै जल्दै रहेर अनि
कस्तो त्यो मुटु हो कठोर जनको मारेर मान्छेहरू
थुप्रै हिंस्रक छन् जनावरहरू लाग्दैन त्यस्तो बरू ।
मान्छे भन्छ हुँ सर्वश्रेष्ठ सबमा बन्दैछ बेकार यो
आफ्नै शत्रु यहाँ बनेर यसरी भो जन्म धिक्कार यो
हाम्रो लागि भयो सराप धरती बाँच्नै छ गाह्रो यहाँ
बूढा बालक यी अशक्त जन झन् भागेर जाने कहाँ ।
छन्द : शार्दूलविक्रीडित
गण : म स ज स त त गु
सङ्केत : SSS llS lSl llS SSl SSl S
वि.सं.२०८१ भदौ ८ शनिवार ०५:२८ मा प्रकाशित





























