मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर
नवोदित सर्जकसँग साहित्यिक कार्यक्रममा पुन भेट भयो । भेट मै मैले गुनासो पोखेँ–
‘सर यहाँको हिजो विमोचित कृति मेरो त हातै परेन । कहाँ किन्न पाइन्छ बताइदिनुन ।’
‘के भन्नु सर मेरो कृति मेरै हातमा त परेन’ उनले उल्टै गुनासो पोखे ।
मैले उनको कुरा बुझिन ।
‘हेर्नुस त सर मैले छपाएको कृति संख्या पाँचसय, पहिलो कृति भएकोले निशुल्क वितरण गर्न विमोचन स्थलमा दुईसय कृति राखेको थिएँ । विमोचन कार्यक्रममा लगभग सय सदस्यहरूको उपस्थिति थियो । त्यो हिसाबले अझ एकसय वटा उभ्रिनु पर्ने एउटै पनि बाकीँ रहेन । मेरा बाकीँ एकसय कृति हराए । तैपनि सरलाई म उपलब्ध गराउने छु ।’ उनले प्रष्टाए ।
केही समय गफ्फिए पछि उनी छुट्टिए ।
एकछिन पछि उनको चर्को स्वर सुनियो । उनी त्यही कार्यक्रम स्थलसँगै रहेको पुस्तक बिक्री कक्षमा चर्काचर्की गर्दै थिए । कुरोकोचुरो बुझ्न म पनि त्यहाँ गएँ । मलाई देख्ने वित्तिकै उनको स्वर झन् तिख्खर भएर आयो –
‘हेर्नुस त सर मेरा हिजो हराएका १०० कृति त यहाँ बिक्रीको लागि पो राखिएको रहेछन् ।’
वि.सं.२०८१ भदौ ८ शनिवार ०५:५३ मा प्रकाशित






























