काठमाडौँ । चिनियाँ सांस्कृतिक केन्द्र नेपालले कविता वाचन गर्दै मध्य शरद चाड अर्थात् मुन फेस्टिबल(मिड एटम फेस्टिबल) मनाएको छ । केन्द्रले काठमाडौंको चक्रपथमा रहेको आफ्नो कार्यालयमा मङ्गलवार ‘कविता वाचन गोष्ठी’ गरेर सो चाड मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रकी डाइरेक्टर स्याउ च्याङ्ले मध्य शरद चाडसँग पौराणिक कथाहरू जोडिएको बताएकी छन् । डाइरेक्टर चाङले यस चाडमा स्वर्गीय दरबार, चन्द्रमाकी देवीलगायत पौराणिक कथाहरू प्रचलित रहेको बताउँदै यसले प्राचीन चिनियाँहरूको समृद्ध कल्पना र उनीहरूबिचको अन्तरक्रियाको बारेमा खोज र जिज्ञासालाई प्रतिबिम्ब गरेको बताइन् । उनले हजारौँ वर्ष अगाडी चिनियाँ विद्धानहरूले लेखेका कविता, क्यालिग्राफी र चित्रकला जस्ता सिर्जना आजसम्म पनि प्रचलित रहेको बताइन् ।
डाइरेक्टर चाङ्ले यस पर्वमा चिनियाँहरू चन्द्रमाको बयान र प्रशंसा गर्ने, चित्रकला कोर्ने र स्वादिलो खानासहित पारिवारिक भेटघाट गर्ने बताइन् । साथै टाढा रहेका आफन्तहरूको सम्झनामा अग्लो ठाउँमा गएर चन्द्रमा हेर्ने उनले बताइन् । डाइरेक्टर चाङ्ले यस कविता वाचन कार्यक्रमका लागि मध्य शरद चाडसँग जोडिएका होङ, सङ र युआन राज वंशका रचित उत्कृष्ट कविताहरू छनोट गरेको बताइन् ।
डाइरेक्टर चाङ्ले मध्य शरद चाडका कविता वाचन कार्यक्रममा नेपाली कवियत्री द्वय अध्यक्ष तुम्खेवा र प्रोफेसर जोशीको उपस्थितिले चिनियाँ र नेपालीबिचको साहित्य आदान प्रदान र अन्तरक्रियालाई प्रतिनिधित्व गर्ने बताइन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अरनिको समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले चिनियाँ साहित्यको इतिहास तीन हजार साल पुरानो रहेको बताए । डा श्रेष्ठले चिनियाँ साहित्यको विकास क्रममा सबैभन्दा पहिला कविता विद्याको विकास भएको बताए । उनले नेपालको कवितामा नौ रसको प्रयोग हुने भएपनि चिनियाँ कवितामा चार रसको प्रयोग हुने बताए ।
कार्यक्रममा सञ्चारीका समूह नेपालकी अध्यक्ष तथा नेपाली कवियत्री विमला तुम्खेवाले ‘जूनको उज्यालोमा पारिजातको फूल’ शीर्षकको कविता वाचन गरेकी थिइन् ।
त्यसैगरी, प्रोफेसर तथा कवियत्री मोमिला जोशीले ४७ बर्ष लामो कविता लेखनको आफ्नो अनुभव सुनाउँदै ‘जूनको कपिराइट’ शीर्षकको कविता सुनाएकी थिइन् ।
कार्यक्रममा चिनसँग सम्बन्धित नेपाली विज्ञहरूसहित सयभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा १० वटा चिनियाँ कविता वाचन गरिएको थियो । आठ जना नेपाली चिनियाँ भाषाका विद्यार्थीले चिनियाँ भाषाका कविता वाचन गरेका थिए । कार्यक्रममा चम्सरी गुरुङ, गिरिस खरेल, अनिल श्रेष्ठ, चन्द्रमान तामाङ, श्रेया महर्जन, बलराम पौडेल र उन्नति जी.सीलगायतले सहभागिता जनाएका थिए ।
वि.सं.२०८१ असोज २ बुधवार ११:०२ मा प्रकाशित






























