भुवन शिवाकोटी चौघरे, काठमाडौं
तिमीले सिकाएपछि
मेरो
जीवनलाई बुझ्ने दृष्टि बदलियो
तिमीले चिनाएपछि
मेरो
जीवनले हिंडाएको बाटो बदलियो
तिमीले रूप देखाएपछि
मेरो
जीवनको शृङ्गार बदलियो
पहिचान बदलियो
समय अनुसार साथीहरू थपिए
र त म
हिजो जे थिएँ
आज तेस्तो छैन
विचित्रको रहेछ संसार पनि
हिजो अस्ति
मलाई टाढैबाट चिन्नेहरूले
आज
नजिकबाट पनि चिन्दैनन्
तर म बदलिएको छैन
पोसाक उहीँ छ
खुराक उहीँ छ
स्वधर्म उहीँ छ
मानवियका करुणा र दया उहीँ छ
मेरो विचारका
आकार
उकार
ईकार
ह्रस्व
दीर्घ
हलन्त
स्वर र व्यञ्जन वर्णहरू
जस्तो थिए तेस्तै छन्
म बदलिएको हैन
बदलिएको पनि छैन
तर
तिमीले चिनाएपछि बाटो बदलियो
जस्तो कि
मदिराको गिलास छोडेर
आजकाल
मेरो हात
दुधको गिलास समात्छ ।
वि.सं.२०८१ मंसिर १ शनिवार ०४:५२ मा प्रकाशित






























