बाबुराम न्यौपाने ‘उत्स’ दमक, झापा
ऊ ! मेरो बालसखा । हामीले सँगसँगै स्नातक सम्मको शिक्षा आर्जन गर्यौँ । ऊ, राजनीतितिर लाग्यो ३ म खाडी देशतिर लागेँ । सुरु सुरुमा त हामीबीचमा बाक्लै फोन सम्पर्क हुन्थ्यो तर पछि विस्तारै पातलियो । विदेशमा अनेक हण्डरहरू सहँदै मेरो पाँच बर्ष बित्यो। म स्वदेश फर्किएँ ।
विदेश बसाइ उपलब्धिमूलक हुन सकेन । सोचेँ राजधानीमा भएको बालसखालाई भेटेर जाऊँ । फोन गरेर, उसको ठेगाना मागेँ ।
तर उसले भन्यो, ‘तँ कहाँ छस्। म आफै लिन आउँछु ।’, केहीबेरमै ऊ, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रतीक्षालयमा आइपुग्यो । ख्याउटे साथी अब त मोटोघाटो तन्दुरुस्त भएछ । भेटको खुशीमा मेरो मन लालीगुराँस फूल जस्तै ढकमक भएर फुल्यो ।
साथीले चलाएको चिल्लो गाडी एउटा भव्य भवनको गेटमा पुग्यो । गार्डले अदबसाथ सलाम ठोके। उसले गाडी ग्यारेजमा राख्यो। म उसको पछिपछि लागेँ ।
‘यो घर बनाउन ठ्याकै दुई बर्ष लाग्यो,साथी । बल्ल अब कम्प्लिट गरेँ । झण्डै पाँच करोड खर्च भयो ।’, सुनेर म चकित भएँ । उसका अपत्यारिला कुरा सुनेर मेरो मुखबाट अनायास प्रश्न फुस्कियो ,‘यति छोटो समयमा, यत्रो पैसा तैंले कसरी कमाइस् ?’
ऊ, मुसुक्क मुस्कुरायो । मलाई एकछिन गडेर हेर्यो । तर मेरो प्रश्नको उसले सिधा उत्तर दिएन ।
ऊ !! आँखा चम्काएर भन्दै थियो,
‘म पाँच बर्षमा पालैपालो तीनजना प्रभावशाली मन्त्रीको पिए बनिसकेँ।सिधा औंलाले घीउ आउँदैन रहेछ, साथी ।’
मलाई वाक्वाकी आउला जस्तो भयो । महलको चारै दिशाबाट आएको एककिसिमको दुर्गन्धले खपिनसक्नु भयो । म हतारहतार शीशमहलबाट बाहिरिएँ ।
मभित्र एउटा भयंकर प्रश्न उब्जियो ।
‘यसले आफ्नू निधारमा कालोधनले डामेको कालोखत कालोधनकै दूषित पानी छर्किएर मेट्ने भयो ।’
वि.सं.२०८१ मंसिर २९ शनिवार ०५:२९ मा प्रकाशित






























