back
CTIZAN AD

सिन्धुलीगढीको नेपाल–अंग्रेज युद्ध र ओझेलमा परेका सरदार जसराम थापाको योगदान

वि.सं.२०८१ मंसिर ३० आइतवार

2.7K 

shares

जसराम थापाले कान्तिपुरका राजा जयप्रकाश मल्लको समय देखिनै भारदार भई कार्य गर्दै आएका थिए । पछि जयप्रकाश मल्लसँग मनमुटाव भएपछि यिनी श्री ५ पृथ्वीनारायण शाहसँग मिल्न गएका थिए । यिनले सिन्धुली गढीको नेपाल अंग्रेज युद्धमा र पछि नेपाल एकीकरण अभियानमा सक्रिय रुपमा भाग लिएका थिए । यिनको नेपाल एकीकरणमा महत्वपूर्ण योगदान भएपनि ओझेल परेका हुँदा यस आलेखमार्फत चर्चा गर्ने जमर्को गरिएको छ ।

जसराम थापा दिपु थापाका छोरा र विश्राम थापाका पिता थिए भनी योगी नरहरिनाथले उल्लेख गरेको पाइन्छ । विश्राम थापा कान्छी श्रीमतीपट्टिका छोरा हुन । यस हिसावले गणना गर्दा जसराम थापाका तीन भाइ छोरा भएको देखिन्छ । अन्य छोराको नामतल प्रस्तुत गरिएको छ । दिपु थापा पनि अंगद थापा सँगसँगै काठमाण्डौ ंउपत्यका प्रवेश गरेको देखिन्छ । कान्तिपुरका राजा जयप्रकाश मल्लका पालामा यिनी पनि शक्तिशाली भारदार थिए । यिनलाई कतै जसराज थापा र कसैले जसराम थापा भनेर उल्लेख गरेको पाइन्छ, तर यीदुबै नाम गरेका व्यक्ति एकै हुन् । आफ्नो ग्रन्थ“ नेपाल उपत्यकाको इतिहास”मा सूर्यविक्रम ज्ञवालीले रत्न मल्लदेखि लक्ष्मीनरसिंह मल्ल सम्ममा “खस”हरुलाई पश्चिमबाट झिकाएर स–सम्मान बिर्ता दिएर राखेको प्रसंग उठाउनु भएको माति “खस” बगाले थापा नै हुन भन्न सकिन्छ । उनै को “पृथ्वीनारायण शाह” पेज १२७ मा कान्तिपुरका राजा जयप्रकाश मल्लसँग फाटो परेको हुनाले उनी काशी जान भनी हिडेका थिए, तर दहचोकमा उनी गोरखालीहरुद्वारा पक्रिएर नुवाकोटमा पृथ्वीनारायण शाहका सम्मुख उपस्थित गरियो । पृथ्वीनारायण शाहले उनी शत्रुका मुलुकको सबै हाल जान्ने काम लाग्ने मानिस हुन भनी उनलाई आदरपूर्वक आफ्ना दरवारमा राखेका थिए । उनका छोरासँग तुलाराम पाण्डेकी छोरीको विवाह पनि गरियो । यो रीतिले नेपालको यौटा प्रतिष्ठित थापा परिवारसँग गारेखालीहरुको प्रेमपूर्ण सम्बन्ध स्थापित भयो ।

गोरखा वंशावलीहरुका वर्णन अनुसार नेपाल उपत्यका विजय गर्नु भन्दा अघि मकवानपुर आफ्ना अधीन गराउनु पर्छ भनी जसराम थापाले पृथ्वीनारायण शाहलाई महत्वपूर्ण सल्लाह दिएका थिए।” र श्री ५ पृथ्वीनारायण शाहले तुलराम पाण्डेकी छोरीलाई पनि कालु पाण्डेकी छोरीलाई जस्तै आफै लमी भई जसराम थापाका छोरा डम्वरसिंह थापासँग विवाह गराई कान्तिपुरका नेवार राजाका भारदार भएका थापाहरुलाई हात लिएका थिए (थापा, २०५९ः१२–१३) । भारदार–भारदारकोबीच सुमधुर सम्बन्धजोडी आफ्नो कार्य फत्ते गर्ने पृथ्वीनारायण शाहको दूरदर्शी नीतिको यो राम्रो उदाहरण मान्न सकिन्छ । एउटा किंवदन्ती अनुसार राजाकालु थापाको बल, पहुँच र जगजगीबाट छिमेकी स–साना राजाहरु उठी रिस गर्न थाले । मले वम र कीर्ति वमको सल्लाह अनुसार रन्के र जय चन्दले संगठन तयार गरी आफ्नो सरकारी तिरोकालीचौरको धुरी तिर्नका लागि राजाकालु थापालाई पाख्रीचौरमा बोलाए । उनी पाख्रीचौर आएको समयमा हमला गरी उनको राज्यकब्जा गरे ।

त्यहाँबाट उम्के पछि उनी ताकुमकोटबाट वोर्लाङ्ग चौरमा बसे । यसलाई अहिले पनि “थापा चौर” भनिन्छ । यसरी राजगद्दीबाट थापालाई भगाएकोमा त्यहाँका सारा रैतीहरुले अफसोंच मान्दै पालधारोमा गई भात भान्सा गर्दै थिए र धुवा उडिरहेको थियो । धुवाको मुसलो देखेर ताकुमकोटका राजाले तिनीहरुलाई बोलाई सोधे । उनीहरुले ‘आफू थापा राजाका अनुयायी भएको र उनीहरु जहाँ जान्छन् आफूहरु पनि उतै जान्छौ’ भन्ने जवाफ दिँदा उनीहरुको भनाइबाट प्रभावित भएर कीर्तिवम मलेवम राजाले मानिसहरु पठाएर उनीहरुलाई दरबारमा बोलाए । थापाका मानिस दूतको रुपमा आए । उनीहरुलाई राजाले भने “हामी भाइभाइ हौँ  । हाम्रो परस्पर कुनै भेदभाव छैन । हामी राजा हुन्छौं, तिमीहरु काजीको रुपमा रही राजकाजमा सल्लाह दिँदै यही वस ।” यसरी खस अधिराज्यभरी र यसको विखण्डन र विभाजनपश्चात बनेको विभिन्न राज्यहरुका सत्ता शिखरमा पुग्न सफल साहसी यस थापा वंशका पुर्खाहरु बाईसी राज्यसँग सीमा जोडिएका पाल्पा, पर्वत, गोरखा, लमजुङ, कास्की, तनहुँ आदि चौवीसी राज्यहरुका अतिरिक्त काठमाण्डौ : उपत्यकाको कान्तिपुर र भादगाँउ दरवारमा काजी तथा प्रधानसेनापतिको पदमा पुगेको कुरा काशीराम थापा, पर्शुराम थापा, जसराम थापा र रणभीम थापा आदि थापाहरुको ऐतिहासिक उपस्थितिले स्पष्ट गर्दछ (नेपाल, ज्ञानमणि, अभिमान वर्ष २ अंक १, वि.सं. २०५२ पृ. १८) ।

योगी नरहरिनाथद्वारा सम्पादित इतिहास प्रकाश भाग १ पृष्ठ ११९ मा दिपु थापाका छोरा र बिश्राम थापाका पिता जसराम थापाको नाम दिइएको छ र बसन्तबहादुर थापाद्वारा सम्पादित बगाले थापा वंशावलीमा पनि सो कुरा नै उल्लेख भएको छ । यसबाट यो स्पष्ट हुन्छ कि यी जसराम थापा, वडा काजी अमरसिंह थापा पट्टीका पुर्खा नै कान्तिपुरका यी भारदार रहेको हुनु पर्दछ (राजेश्वर थापा, २०५९ः १२–१३) । यसदेखि बाहेक अन्य तथ्य हालसम्म फेला पार्न सकिएको छैन । तर, अमारे सिन्धुलीमा जन्म भई हाल सर्लाहीको जियाजोर निबासी जसराम थापा कै सन्ततीश्री नरसिंह थापाका अनुसार जसराम थापाको बुबाको नाम अम्वरसिंह थापा रहेको भन्ने उल्लेख गरेका छन् । तर यस सम्बन्धमा भरपर्दाे प्रमाण जुटाउन भने उनले सकेको पाइदैन । जसराम थापाले पृथ्वीनारायण शाहबाट सिन्धुलीको पश्चिम भागको शान्ति सुरक्षा गर्नु भनी बिर्ता पाएका थिए । श्री ५ पृथ्वीनारायण शाहको उपदेशका ८४७ र ८४९ अनुसार जब वि.सं. १८१९ मा सिन्धुली फत्ते भयो । यो खबर सुनीश्री ५ महाराज बहुत खुसी हुन भयो । जसराम थापालाई र चंपसिंह गोदार थापालाई तिमीहरुका कबिला पनि राख्नू भनी हुकूम बक्सिनु भई सिन्धुली पनि आधाआधा गरी बक्सिनुभयो (श्री ५ पृथ्वीनारायण शाहको उपदेशका ८४७, ८४९) ।

प्रा.दिनेशराज पन्तका अनुसार सिन्धुली विजय भएपछि खुशी भएका पृथ्वीनारायण शाहले जसराम बगाले थापा र चम्पसिंह गोदार थापालाई तिमीहरुका जहान छोराछोरी राख्नू भनी सिन्धुली आधा–आधा बक्सनुभयो भनी भाषा वंशावलीमा लेखिएबाट यो कुरा अझ बढी प्रामाणिक ठहरिन्छ (पन्त, २०७९, पृ.३१) । वि.सं. १८१९ भाद्र ९ गते मकवानपुर गढी विजय गरेको गोरखाली सेनाले त्यसवेला मकवानपुर राज्यअन्तर्गत रहेको सिन्धुलीगढी वि.सं. १८१९ आश्विन २० गते विजय गरेको थियो । नेपाल खाल्डोबाट पूर्वतिर हुँदै भारत जाने महत्वपूर्ण मूल बाटोमा सिन्धुली पर्दथ्यो । यसैले बाहिरबाट हुने धेरजसो हमलाहरु त्यहीबाट हुने गर्दथ्यो । राज्य टुक्रदै गएर खडा भएको रजौटाहरुमा सिन्धुलीमा आफ्नो अधिकार जमाउन प्रतिस्पर्धा भइरहन्थ्यो । कहिले काठमाण्डौंका मल्ल राजाहरु पहाडको टुप्पोमा रहेको सिन्धुली किल्लामा हाम्रो अधिकार छ भनी गर्व गर्दथे भने कहिले यो मकवानपुरको सेन राज्य अन्तर्गत पर्दथ्यो । पृथ्वीनारायण शाहले मकवानपुरको विजय गर्दा सिन्धुली सेन राज्य अन्तर्गत पर्दथ्यो । सामरिक दृष्टिकोणले यत्ति महत्वपूर्ण क्षेत्रमा अङ्ग्रेजले आँखा गाडेको थियो र त्यही क्षेत्रबाट किनलकको अभियान शुरु भयो । पृथ्वीनारायण शाहको कुशल नेतृत्वमा गोरखाली सेना र स्थानीयजनताको सहयोगबाट अङ्ग्रेजको साम्राज्यवादी अभियान असफल भयो । यस अभियानमा बगाले थापाहरुको देशभक्तिपूर्ण योगदान धेरै महत्वपूर्ण थियो । उनले सिन्धुली पौवागढी र हरिहरपुर गढीको नेपाल–अंग्रेजयुद्धमा सक्रिय रुपले भाग लिएका थिए । यिनले एकीकरण अभियानमा नेपालको तर्फबाटपूर्व देखि पश्चिम काङ्गडासम्मका विभिन्न स्थानमा भाग लिई ठूलो योगदान पु¥याएका थिए । उनी र उनका सन्तानले सिन्धुलीको अमारेमा बसोबास गरे ।

सरदार जसराम थापाका तीन भाइ छोरा थिए, जसमा जेठा सरदार डम्बरसिंह थापा, माहिला अडिमर्दन सिंह थापा, र कान्छा बिश्रामसिंह थापा । यिनका सन्तती अहिले नेपालका विभिन्न स्थानमा बसोवास गर्दै आएको पाईन्छ । यिनको बारेमा इतिहासमा धेरै उल्लेख भएको पाइदैन । मल्ल कालमा यिनी दरवार मै भारदारी काममा रहेका देखिन्छन् । यिनी बफादर, कुटनीतिज्ञ, प्रशासन सञ्चालन गर्न निपूर्ण भएकोले नै जयप्रकाश मल्लसन्ग द्वन्द्व बढ्दा कान्तिपुर नै छाडेर जान लाग्दा पृथ्वीनारायण शाहले जाँची बुझीकन नै यिनलाई अति काम लाग्ने व्यक्ति भनेर नै नुवाकोट दरबारमा संरक्षण दिई नेपाल एकीकरण अभियानमा सहभागी गराएका थिए । सेप्टेम्वर, सन् १७७५ मा नेपाल र तिब्बत बीच खासा सन्धि भएको थियो ।

यसै परिप्रेक्षमा जुलाई, १७७५ ई मा नेपालका तर्फबाट रुपनारायण कार्की, जगधर पाण्डे, प्रतापसिंह प्रधान, जसरामथापा, बैजनाथ उपाध्याय, लक्ष्मीनारायण उपाध्याय र दामोदर उपाध्याय थिए भने तिब्बतका तर्फबाट बत्तीस कोठीका प्रतिनिधिका साथै अन्य विशिष्ट व्यक्तिहरुको प्रतिनिधित्व थियो । दुबै तर्फका प्रतिनिधिबाट खासा नामक स्थानमा आपसी हितका बारेमा गहन छलफल गरी एउटा सन्धि गरेका थिए यसैलाई खासा सन्धि भनिन्छ (ढुङ्गाना, २०७७, पृ.१६१) । यसबाट के थाहा हुन्छ भने जसराम थापा कुटनीति क्षेत्रमा पनि सक्रिय थिए ।

यिनको बारेमा इतिहासकारहरुले धेरै व्याख्या गरेको पाइदैन । यिनी देशभक्त वीर लडाकु अंग्रेजका कट्टर दुश्मन भएको हुँदा उनीहरुले पनि यिनको बारेमा खासै उल्लेख गरेनन् । सरदार जसराम थापा जस्ता धेरै वीर वीरङ्गनाहरु अझै नेपालको इतिहासमा ओझेलमा परेका छन् । सिन्धुली गढीको युद्धमा महत्वपूर्ण भूमिका खेलेका सरदार जसराम थापा, सरदार डम्बरसिंह थापा आदिको नाम सिन्धुली गढी युद्ध संग्राहलयमा समेत छुडाइएको छ । यो अति दुःख लाग्दो पक्ष हो । आगामी दिनमा उनको नाम सिन्धुली गढी युद्ध संग्राहलयमा समावेस गर्न सम्बन्धितपक्षको ध्यान पुगोस् र नेपाल राष्ट्र निर्माणमा उनले पु¥याएको योगदानको कदर गरियोस् ।

मितिः २०८१ मार्ग २६, काठमाण्डौं । सम्पर्क :९८५११४५४०३

वि.सं.२०८१ मंसिर ३० आइतवार ०८:३४ मा प्रकाशित

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

कुर्सी मात्र होइन, मर्यादा पनि भाँचिएको त्यो संसद्

फेरि नयाँ संसद भित्र धक्कामुक्का भयो।  युट्यूव तथ टेलिभिजन स्क्रिनमा...

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

व्यवसायी मित्र लाल पार्देको पोल्याण्डबाट खुल्लासवाल – ‘हिजोका अभियन्ता आज अपराधी ? ’’

पोल्याण्ड – विदेशी भूमिमा नेपाली सामानको ब्रान्ड बनाउन दशकौं संघर्ष गरेका...

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा भित्रन्छन् वार्षिक ९ हजार नेपाली

न्युजिल्याण्डमा वर्षभरिमा कति नेपालीहरु आउंदा होलान ? अनुमान गर्न सक्नु...

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...